धनगढी : नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जीता श्रेष्ठले टिकापुर हत्याकाण्डको कुसर माफी मिनाहाले अन्त्य नहुने जवाफ पेश गरेकी छिन् । रञ्जीताले आफूविरुद्धको रिट निवदेन खारेज गर्न माग गर्दै सर्वोच्च अदालतलाई ११ बुदे जवाफ पेश गरेकी हुन ।
उनले जवाफमा फौजदारी अभियोग लागेको व्यक्ति, टिकापुर घटनाका मुख्य अभियुक्त, नैतिक पतन भएका व्यक्ति राजनीतिक दलको सदस्य समेत हुन नपाउने उल्लेख गरेकी छिन् ।
साथै रञ्जिताले टिकापुरमा भएको नाउपाको प्रथम अधिवेशनलाई कथित अधिवेशनको संज्ञा दिएकी छिन् । उनको लिखीत जवाफमा अदालतबाट दोषी ठहर भएका व्यक्ति नाउपाको सदस्य समेत हुन नपाउने विधान रहेको उल्लेख गरेकी छिन् ।
रेशम चौधरीले नाउपा अध्यक्ष रन्जिता श्रेष्ठ तथा निर्वाचन आयोगलाई विपक्षी बनाएर सर्वोच्चमा रिट दायर गरेका थिए ।
टीकापुरमा सम्पन्न पहिलो महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका रेशमलाई निर्वाचन आयोगले वैधानिकता दिएको थिएन ।
निर्वाचन आयोगले अध्यक्षमा रन्जितालाई नै सदर गरेपछि रेशम निर्वाचन आयोग र रन्जितालाई विपक्ष बनाएर उत्प्रेषणको आदेश जारी गरिपाऊ भने रिट दायर गरेका थिए ।
नाउपामा आन्तरिक विवाद चुलिएपछि रेशम चौधरीले चैत्र २२ र २३ गते काठमाडौँमा बैठक आह्वान गरेका थिए । अध्यक्ष रन्जिताले उक्त बैठक आधिकारिक नभएको बताएकी थिइन् ।
रन्जिता श्रेष्ठले अवैधानिक ठहर गरेको बैठकमा नै रेशम चौधरीले नागरिकता लगायतका प्रमाणहरू संकलन गरेर मुद्दा दायर गरेका थिए ।