काठमाडौं : न्याय सेवा आयोगले दुई सचिवसहित २८ जनाको सरुवा गरेको छ । आयोगको आज बसेको बैठकले कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटालाई सत्य निरुपण तथा मेलमिलाप आयोगमा पठाएको छ भने आयोगका सचिव फणिन्द्र गौतमको मन्त्रालयमा सरुवा भएको छ ।
त्यस्तै, विशेष अदालतका रजिष्ट्रार हरिराज कार्कीको सह–रजिष्ट्रारको रुपमा सर्वोच्च अदालतमा सरुवा भएको छ । उनको ठाउँमा जितेन्द्रबाबु थपलियालाई ल्याइएको छ ।
यता, सहसचिव रामप्रसाद भट्टराई, रामप्यारी सुनुवार, जगदीशप्रसाद भट्ट र विश्वजंग सिजापतिको क्रमशः उच्च अदालत तुलसीपुर, पाटन, विराटनगर र सुर्खेतमा सरुवा भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यरत सहसचिव निर्मला अधिकारी भट्टराईलाई कानून मन्त्रालय पठाइएको छ । त्यहाँ निर्वाचन आयोगका यज्ञप्रसाद भट्टराईलाई लगिएको छ ।
कानून मन्त्रालयका सहसचिव धर्मराज कुईंकेल गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा भएकाले उनको ठाउँमा कोशी प्रदेशको मुख्यमन्त्री कार्यालयमा कार्यरत विनोदकुमार भट्टराईलाई ल्याइएको छ ।
यस्तै, गण्डकी प्रदेशको मुख्यमन्त्री कार्यालयका शम्भुराज रेग्मी न्याय सेवा तालिम केन्द्रमा प्रमुखका रुपमा सरुवा भएका छन् । कानून मन्त्रालयमा कार्यरत सहसचिव अरुणा चौधरीलाई भने निर्वाचन आयोगमा पठाइएको छ ।
प्रधानमन्त्री कार्यालयका उपसचिव रेशमराज सिग्देल भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा र कानून मन्त्रालयमा कार्यरत टंकबहादुर महतसहित महालेखा परीक्षकको कार्यालयका राजेन्द्रकुमार लम्सालको प्रधानमन्त्री कार्यालयमा सरुवा भएको छ ।
नेपाल कानून आयोगका उपसचिव देवकुमार राईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालय पठाइएको छ । प्रधानमन्त्री कार्यालयमा कार्यरत मानबहादुर बस्नेत, उद्योग विभाग तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका विष्णबहादुर घर्ती सडक विभागमा सरुवा भएका छन् ।
उपसचिव मनिराम ज्ञवाली, भूमिनन्द खनाल, खिमानन्द ज्ञवालीको भने क्रमशः महालेखा परीक्षकको कार्यालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयमा सरुवा भएको छ ।
शाखा अधिकृततर्फ युवा तथा खेलकुद मन्त्रालयमा कार्यरत सुनिता अर्याललाई नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रार कार्यालय पठाइएको छ । उनको ठाउँमा प्रमिला तामाङ आएकी छन् ।
स्वास्थ्य सेवा विभागकी सीता घिमिरे सहकारी विभाग, राष्ट्रिय योजना आयोग सचिवालयकी यमुना भट्टराई न्यौपाने अख्तियार दुरुपयोग अनुसन्धान आयोग र मधेशको आर्थिक मामिला तथा योजना मन्त्रालयमा कार्यरत सुरेशप्रसाद चौलागाईको स्वास्थ्य सेवा विभागमा सरुवा भएको छ ।