धनगढी : सशस्त्र प्रहरी बलका निरीक्षक (इन्स्पेक्टर) प्रकाशबहादुर चन्द्रविरुद्ध मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इन्स्पेक्टर चन्दविरुद्ध मुद्दा दायर गरेको हो।
सशस्त्र प्रहरी बल, ३६ नम्बर गण डोटी दरबन्दी भएका चन्दले नक्कली प्रमाणपत्रको आधारमा जागिर खाएको देखिएकाले मुद्दा दायर गरिएको अख्तियारको दाबी छ।
उनले भारतबाट जारी भएको हाइस्कुल तहको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी प्रहरी परिचर पदमा नियुक्ति लिई त्यस पश्चातका माथिल्ला विभिन्न पदको लागिसमेत सोही प्रमाणपत्र पेस गरेको खुल्न आएको अख्तियरका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।
चन्दले माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश, बोर्ड अफ हाइस्कुल एण्ड इन्टरमिडियट एजुकेशन युपीबाट लिएको हाइस्कुलको शैक्षिक प्रमाणपत्र नक्कली भएको अनुसन्धानबाट खुलेको अख्तियारले जनाएको छ।
उक्त शैक्षिक प्रमाणपत्र पेश गरी परिचर पदमा भर्ना भई माथिल्लो पदका लागि समेत सोही प्रमाणपत्र पेश गरी इन्सपेक्टरसम्म भई सेवा सुविधा लिई भ्रष्टाचार गरकेो दाबी गर्दै मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले बताए।
उनका अनुसार चन्दले सशस्त्र प्रहरी निरीक्षक पदमा रही ओहोदा, लाभ र सुविधा प्राप्त गरेको र निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर भएको हुँदा निजलाई सोही ऐनको दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना मागदाबी गर्दै मुद्दा दायर गरिएको हो।
यस्तै स्रोतका अनुसार चन्दले हालै एक हप्ता अगाडिमात्रै पदबाट राजीनामासमेत दिएका थिए। उनले मुद्दा परेर जागिर जाने देखेपछि राजीनामाको बाटो रोजेको बुझिएको छ। उनको स्थायी घर पनि डोटी नै हो।