धनगढी– कैलालीमा गठबन्धनविरुद्ध ८ जना बागी उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । बागी उम्मेदवारले पार्टीकै चुनाव चिन्हमा भोट मागिरहेका छन् ।
भागबण्डामा माओवादीलाई परेको कैलारी गाउँपालिकामा नेपाली काँग्रेसबाट राजसमझ चौधरी चुनावी मैदानमा छन् । उनले रुख चिह्नमै भोट मागिरहेका छन् । पार्टीको आधिकारिक पत्रबाट उम्मेदवारी दिएका उनले उम्मेदवारी फिर्ता नगरेपछि रुख चिह्न नै पाएका हुन् । तर काङ्ग्रेसले भने उनलाई आफ्नो आधिकारिक उम्मेदवार नभएको जनएको छ।
यस्तै, चुरे गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका टेकबहादुर रजवार, उपाध्यक्षमा डिला सिजापती र एकीकृत समाजवादीका कृष्णकुमार खत्री बागी उम्मेदवार बनेर भोट मागिरहेका छन् । कैलारी गाउँपालिकाको उपाध्यक्षमा माओवादी केन्द्रबाट लक्ष्मी सत्गौवा, माओवादी केन्द्रबाटै गोदावरी नगरपालिकाको मेयरमा विक्रम विश्वकर्मा, उपमेयरमा रिमा खड्का र जोशीपुरको उपाध्यक्षमा काँग्रेसबाट किरण चौधरीको बागी उम्मेदवारी छ।
यसैगरि, कैलालीमा तीन दलीय गठबन्धनले बागी उम्मेदवारी दिनेमाथि कार्बाही गर्ने निर्णय गरेको छ। तीन दलीय गठबन्धनमा सहभागी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले संयुक्त रुपमा यस्तो निर्णय गरेका हुन् ।