धनगढी: कञ्चनपुरका विपिन जोशीको उद्धार र रिहाईका लागि नेपाली काँग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य रमेश लेखकले पहल थालेका छन्। विगत सात महिनादेखि प्यालेस्टिनी लडाकु समूह हमासको नियन्त्रणमा रहेको भनिएका विपिनको रिहाइका लागि लेखकले पहल थालेका हुन्।
लेखकले प्रधानमन्त्रीसहित राष्ट्रपतिलाई समेत विपिनको रिहाइका लागि आग्रह गरेका छन्। उनले विपिनका आफन्तलाई समेत लगेर पहल थालेका हुन्।
उनले कतारका राष्ट्र प्रमुख अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल आएको मौकामा पहल थालेको बताइएको छ।
उनी आज नेपाल भ्रमणमा आएका छन्। उनको नेपाल भ्रमणका क्रममा विपिनको रिहाइका लागि आग्रह गर्नेसमेत जनाइएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि त्यसमा चासो देखाएका छन्।
प्रधानमन्त्री प्रचण्डले कतारका राजा अमिर शेखसँग छलफल गर्ने एजेण्डाको पहिलो नम्बरमा नै विपिनको रिहाइको एजेण्डा रहेको बताए।
आइतबार सुदूरपश्चिम विश्वविद्यालयमा आयोजित कार्यक्रममा कतारका राजासँग आफूले विपिनको रिहाइका लागि गम्भीर रूपमा कुराकानी गर्ने बताएका थिए। त्यसपछि रमेश लेखकसहित विपिनका आमाबुवालेसमेत प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपतिलाई भेटेर छोराको रिहाइका लागि पहल गरिदिन आग्रह गरिसकेका थिए।
हमास र इजरायलबिच अझै युद्ध जारी छ। यसअघि कतारले मध्यस्थता गर्दा इजरायल र हमासबिच युद्धविराम भएको थियो। त्यसक्रममा दुवैतर्फबाट केही व्यक्ति रिहा पनि भएका थिए। फेरि कतारले नै पहल गरेमा मात्र युद्धविराम हुने सम्भावना रहेको कूटनीतिक मामिलाका जानकारहरू बताउँछन्।
विपिनको रिहाइका लागि यसअघि पनि प्रधानमन्त्री प्रचण्ड, तत्कालीन परराष्ट्र मन्त्री एनपी साउद, वर्तमान परराष्ट्र मन्त्री श्रेष्ठले पटक–पटक प्रयास गरेको बताएका थिए।
तर, कञ्चनपुरबाटै प्रतिनिधित्व गर्ने तत्कालीन परराष्ट्र मन्त्री एनपीलाई भने पहलका नाममा आश्वासनमात्र दिएको आरोप लाग्दै आएको छ।
तत्कालीन परराष्ट्रमन्त्री एनपीले रिहाइका लागि ठोस पहल नगरिदिएको आफन्तको गुनासो छ।