कञ्चनपुरः कञ्चनपुर प्रहरीले पछिल्लो समय सक्रियता बढाएको छ। भन्सार छलीदेखि फरार प्रतिवादी समाउने कार्यमा प्रहरी सक्रिय बनेको हो। कञ्चनपुर प्रहरीले हिजो र आज गरेर मात्रै दुई थान ट्याक्टरसहित झण्डै १६ लाख मुल्यको अवैध सामान नियन्त्रणमा लिएको छ।
१५ लाख ९७ हजार ९३० को अवैध सामान प्रहरीले नियन्त्रणमा लिएको हो। मंगलबार इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले टोलीले बेलौरी नगरपालिका–८ बाट १४ लाख ६२ हजार मुल्यको भन्सार छलीको सामान बरामद गरेको छ।
त्यस्तै अस्थायी प्रहरी पोष्ट सुकासालबाट खटिएको प्रहरी टोलीले ५४ हजार ७३० मुल्यको अवैध सामान बरामद गरेको छ। अस्थायी प्रहरी पोष्ट मझगाउँबाट खटिएको प्रहरी टोलीले पनि १० हजार र आज बुधबार इलाका प्रहरी कार्यालय गड्डाचोकीबाट खटिएको प्रहरी टोलीले भीमदत्त नगरपालिका–११ बाट ७१ हजार दुई सय मुल्यको अवैध सामान बरामद गरेको छ।
दुई थान ट्याक्टर, एक थान साइकल, गहुँ, डिउ, चिनी, सुट, कुर्ती, लेडिज टि–सर्ट, धोती, मिश्री, तेल, प्याज, बिडी, सुर्ती, बिस्कुट, जिरा, गम्छा लगायतका अबैध सामान प्रहरीले नियन्त्रणमा लिएर भन्सार कार्यालय पठाएको छ। प्रहरीले अवैध सामान आयातमा संलग्न व्यक्ति तथा तस्करलाई भने नियन्त्रणमा लिन सकेको छैन्।