तेज बोहरा/धनगढी : सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानीसमेत रहेको धनगढीमा लागुऔषधका दुर्व्यसनी र कारोबारी बर्सेनि बढ्दो पाइएको छ। जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार लागुऔषधका कारोबारी र प्रयोगकर्ता बढ्दै गएको पुष्टि गरेको हो।
भारतसँगको खुला सीमा रहेको कैलालीको धनगढीमा लागुऔषध कारोबारी र प्रयोगकर्ता समात्न प्रहरीलाई हम्मेहम्मे हुने गरेको छ। दिनहुुँ पक्राउ गर्दा जिल्ला प्रहरी र वडा प्रहरीको हिरासत कक्ष लागुऔषध कारोबारी र प्रयोगकर्ताले भरिभराउँ हुने गरेका छन्।
धनगढीबाट छोटो दुरीमा रहेको भारतीय बजारहरु वनगाउँ र पलियाबाट लागुऔषध कारोबारीले दैनिक ठुलो परिमाणमा प्रहरीको आँखा छलेर लागुऔषध भित्र्याउने गरेका छन्।
जिल्ला प्रहरी कार्यालय कैलालीले सार्वजनिक गरेको तथ्याङ्क अनुसार वर्सेनि दोब्बर तेब्बर संख्यामा कारोबारी र प्रयोगकर्ता बढिरहेका छन्। आर्थिक वर्ष २०७७/०७८ मा लागुऔषध (ब्राउन सुगर, नाईट्रोभेट, चरेस) मा ९१ मुद्दा दर्ता भएकोमा ८९ जना पक्राउ परेका थिए। जसमा ८३ पुरुष र ६ जना महिला रहेका छन्।
यस्तै आर्थिक वर्ष २०७८/०७९ मा लागुऔषध मुद्दाको संख्या दोब्बरबढीले बढेको देखिन्छ। दुई सय १ मुद्दा दर्ता भएकोमा ३१५ जना पक्राउ परेका छन्। जसमा २९७ जना पुरुष १८ जना महिला रहेका छन्। आर्थिक बर्ष २०७९/०८० मा मुद्दाको संख्या बढेर ३४७ पुगेको देखिन्छ भने कारोबारी र प्रयोगकर्ता गरी ५२२ जना पक्राउ परेका छन्। जसमा ४७३ पुरुष र ४९ महिला रहेका छन्।
चालु आर्थिक वर्ष (एसपी पदमबहादुर बिष्टको कार्यकाल) २०८०/०८१ को बैशाख १० गतेसम्म २६९ लागुऔषध सम्बन्धी मुद्दा दर्ता भइसकेका छन् भने ३५३ जना पक्राउ परेका छन्। जसमा ३३० पुरुष २३ जना महिला रहेका छन्।
प्रहरीले धनगढीमा लागुऔषधको अवस्था नियन्त्रण बाहिर गएपछि हालका कैलाली प्रहरीका प्रमुख एसपी पदमबहादुर बिष्टले भारतीय प्रहरीसंग सहकार्य गरेर काम सुरु गरेका जानकारी दिए। उनका अनुसार पछिल्लो समय ठूला लागुऔषध कारोबारीहरु भारतको पलियामै पक्राउ परिरहेका छन्।
आफ्नो अनुरोधमा भारतीय प्रहरीले कारबाही अगाडी बढाएको उनले बताए। उनले वनगाउँ लागुऔषध कारोबारीको हटस्पटको रुपमा रहेको बताए।
भारतीय प्रहरीले कडाई गरेपछि पछिल्ला दिनहरुमा केही लागुऔषध कारोबार घटेको प्रहरीको बुझाई रहेको छ।
खुला सीमा रहेको कैलालीमा प्रहरीलाई लागुऔषध नियन्त्रण चुनौती बन्दै गएको छ। ‘खुला सीमा भएका कारण कतै न कतैबाट छिरिहाल्छन्। खुला सिमानाका कारण कठिनाइ भएको छ। लागुऔषध बढ्नुको मुख्य कारण खुला सिमाना नै देखिएको छ,’ एसपी बिष्टले भने, ‘धनगढीमा नियन्त्रण गर्न चुनौती देखिएपछि भारतीय प्रहरीसंगको सहकार्यमा नियन्त्रणको प्रयास गरिरहेका छौँ।’
लागुऔषध कारोबारी र प्रयोगकर्ताकै कारण कैलाली कारागार खचाखच भरिएको छ, क्षमता भन्दा चार गुणबढी कैदीबन्दी छन्। जसमध्ये पनि करिब आधा कैदीबन्दी लागुऔषध मुद्दामा सजाय पाएको रहेको बुझिएको छ।
यौनधन्दा मौलायो
यस्तै धनगढी र अत्तरियाका होटलहरुमा पछिल्लोसमय यौन धन्दापनि बढ्दै गइरहेको छ।
जिल्ला प्रहरी कार्यालयकाअनुसार चालु आर्थिक वर्षमा सदरमुकाम धनगढी र अत्तरिया क्षेत्रबाट यौन धन्दा संलग्न ६३ जनालाई पक्राउ गरेको छ।
धनगढीमा यौन धन्दामा संलग्न भएको आरोपमा प्रहरीले २९ पुरुष ३४ महिलालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार धनगढीका विभिन्न होटलहरुबाट उनीहरुलाई पक्राउ गरी मुद्दा चलाइएको छ।