वाशिंगटन डिसी – विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाली पत्रकारहरूको अन्तराष्ट्रिय संजाल इन्जाले संसारभरी छरिएर रहेका सञ्चारकर्मीहरु तथा प्रेस र अभिव्यक्ति स्वतन्त्रताप्रेमी सवैलाई शुभकामना व्यक्त गरेको छ ।
विश्वमा सरकार प्रेस जगतप्रति अनुदार हुंदा एकातिर जनताको सूचना पाउने मौलिक हक कुन्ठित भैरहेको छ भने चौथो अंगको रुपमा रहेको संचारले निर्वाधरुपमा अभिब्यक्ति स्वतन्त्रता मार्फत समाजलाई योगदान दिन नसकेको हुंदा यतातर्फ ईन्जाले विश्वका सरकारहरुको ध्यानाकर्षण गराएको छ ।
युनेस्कोद्वारा मे २-५ सम्म दक्षिण अमेरिकाको उरुग्वेमा “पत्रकारिता डिजिटल घेराबन्धीमा” शीर्षक दिएर संचालन गरिरहेको विश्व प्रेस स्वतन्त्रता सम्मेलन २०२२ मा यस पटक इन्जाले पनि सक्रिय सहभागिता जनाइरहेको छ ।
सम्मेलनमा सहभागिता जनाइरहनु भएका इन्जा अध्यक्ष गुणराज लुइटेलका अनुसार यस पटक चार वटा महत्वपूर्ण सेसनबाट बदलिंदो डिजिटल युगको दवावले संचार र अभिब्यक्ति स्वतन्रतामा कस्तो असर पर्ला र प्रेसले कस्तो भूमिका खेल्नु पर्ला भन्ने विषयमा छलफल भै “पोल्टा डे एस्ते, उरुग्वे” घोषणापत्र जारी गर्ने छ ।
सरकारहरु जिम्मेदार नहुँदा सञ्चार जगतले जहिले पनि समस्या भोग्नुपरेको कुरा बताउँदै इन्जाले शुभकामना सन्देशमा अगाडि भनेको छ पत्रकारहरूको सुरक्षा र पेशागत हकहितको लागि सरकार, राजनीतिक पक्ष र समाजका हरेक क्षेत्रबाट सहयोग हुन जरुरी छ ।
पेशागत कामको शिलसिलामा हालसालै युक्रेन युद्धमा मारिएका पत्रकारहरु र संसारका विभिन्न भागमा अन्य विविध कारणले मारिएका संचारकर्मीप्रति हार्दिक श्रद्धान्जली ब्यक्त गर्दै इन्जाले पत्रकारहरुको सुरक्षामा ध्यान दिन सरोकारवालाहरुलाई कडा अनुरोध गरेको छ ।
साथै संचार जगतलाई पनि समाजमा मर्यादित र जिम्मेदार भएर भूमिका निर्वाह गर्न इन्जाले आग्रह गरेको छ ।