काठमाडौं: तत्कालीन समयका गुण्डा नाइके हालका गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री राजीव गुरुङ (दीपक मनाङ्गे)लाई प्रहरीले स्यालुटसहित सलामी दिएपछि आलोचना भएको छ।
ज्यान मार्ने उद्योगमा अदालतबाट कैद संजाय पाएका एवं गुण्डागर्दी पृष्ठभुमिका मन्त्री मनाङ्गेलाइ हालै पोखराको प्रहरी तालिम केन्द्रका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मुकुन्द मरासिनीले स्यालुट गरेर पिर्के सलामीसमेत दिएका थिए। सोही सलामीपछि एसएसपीको आलोचना सुरु भएको हो।
प्रहरी वृतमा एसएसपीको निकै आलोचना भैरहेको छ। यस अगाडि टीकापुरमा हत्याकाण्डमा दोषी रेशमलाल चौधरीलाई स्वागत गरेको प्रकरण एक डीएसपीले कारबाही नै भोगेका थिए।
केहीले भने हालको एसएसपीको यो घटनालाई पनि सोही प्रकृतिको भन्दै आलोचना गरिरहेका छन् भने केहीले देशमा गुण्डाहरुको राज भएको प्रतिक्रिया दिएका छन्।
मन्त्री मनाङे सोमबार दिउँसो प्रदेश प्रहरी तालिम केन्द्र, ढुंगेसांघुको अनुगमनमा गएका थिए। सोही क्रममा एसएसपी मरासिनिसहितले स्वागतका क्रममा उनले स्यालुट हानेका थिए।स्वागतका क्रममा एसएसपी मरासिनिले मन्त्री गुरुङलाई तालिम केन्द्र प्रवेश गर्ने बाटो जिर्ण रहेको र वर्षाकालमा आवत जावत गर्न समस्या रहेको जानकारी गराएका थिए। जवाफमा मन्त्री गुरुङले आगामी आर्थिक वर्षको बजेटमा सम्बोधन गर्ने प्रतिवद्धता व्यक्त गरेको मनाङेको सचिवालयले जनाएको थियो।
मनाङे गुण्डागर्दीबाट आएका नेता हुन्। यसअघि पनि उनी २०७८ सालको बैशाखमा गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्री बनेका थिए।
ज्यान मार्ने उद्योगमा अदालतबाट कैद संजाय पाएका र विभिन्न अभियोग लागेका मनाङ्गेलाई प्रहरीले पहिला पटक–पटक पक्राउ गरी थुनामा राखेको थियो।
अहिले एसएसपीले नै उनलाई स्यालुट गरेको फोटो सामाजिक सञ्जालमा भाइरल बनेको छ।