पाल्पा : प्रतिनिधिसभा र ७ वटै प्रदेशका सभामुख, उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्षसहितको अन्तर व्यवस्थापिका भेला आज देखि पाल्पाको तानसेनमा आयोजना गरिएको छ ।
लुम्बिनी प्रदेशसभा सचिवालयले आयोजना गरेको दुईदिने भेलामा संघ र प्रदेशका सभामुख, उपसभामुखका साथै सचिवहरु सहभागी हुँदैछन् ।
भेलामा केन्द्र र प्रदेशलाई केन्द्रित गरेर संसदीय बजेट महाशाखा सम्बन्धी अवधारणापत्र प्रस्तुत, छलफल र अन्तरक्रिया, अन्तर व्यवस्थापिका कार्यविधि माथि छलफल, अन्तर व्यवस्थापिका मञ्च नेपाल गठन सम्बन्धी कानुन तथा विविध विषयमा छलफल केन्द्रित रहने आयोजक लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्तिमगरले जानकारी दिए ।
संघीयतालाई पूर्णरुपमा कार्यान्वयन गर्न र गराउन र यो अन्तर व्यवस्थापिका भेला महत्वपूर्ण हुने आयोजक लुम्बिनी प्रदेशसभाले जनाएको छ । शनिबार बिहान प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसहितको उपस्थितिमा ७ वटै प्रदेशका सभामुख तथा उपसभामुखहरूको सहभागितामा अन्तर व्यवस्थापिका सम्मेलन पाल्पा घोषणापत्र जारी गर्ने कार्यक्रम रहेको छ ।
सम्मेलनका अवसरमा पाल्पाका पर्यटकीय गन्तव्यहरू रानीमहल, पाल्पा दरबार र पाल्पा भैरवस्थानको अवलोकन गराउने तयारी गरिएको छ ।