धनगढी : बझाङमा भोली हुने प्रदेश सभा सदस्यको उपनिर्वाचनको बिषयलाई लिएर एकिकृत समाजवादी दुई धारमा विभाजित भएको छ । समाजवादीमा एमालेलाई सहयोग गर्ने र नगर्ने भन्ने बिषयमा दुई धारमा विभाजित भएको हो ।
वैशाख १५ (भोली) हुने उपनिर्वाचनमा एकपक्षले एमालेलाई सहयोग गर्ने आन्तरिक सहमति गरेको छ भने अर्को पक्ष त्यसको विरुद्धमा देखीएको छ ।
स्रोतका अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशी पक्षले एमालेलाई मतदान गर्ने सहमति गरेको छ । निर्वाचनमा मत विभाजन हुदाँ एमाले समाजवादी दुवैले हार्ने र तेस्रो पक्षले जित्ने आकलन गरेपछि जोशी पक्षले एमालेलाई सर्मथन गर्ने सहमति गरेको स्रोतको दाबि छ ।
बझाङको उपनिर्वाचन सुदूरपश्चिम प्रदेश सरकार गठनमा निणार्यक देखीएपछि एमाले र समाजवादी दुवैले हारे मुख्यमन्त्री दीर्घ सोडारीलाई विश्वासको मत पाउन कठिनाई हुने देखेपछि जोशी पक्षले एमाले उम्मेदवार दमन भण्डारीलाई सहयोग गर्ने सहमति गरेको हो ।
उक्त सहमतिको आधारमा एमाले केन्द्रीय समस्य ऐन महरले सामाजिक सञ्जालमा समेत व्यक्त गरेका छन् । महरले शुक्रबार साझँ आफ्नो फेसबुकमा एकिकृत समाजवादीलाई सहमति र सहकार्यको लागि धन्यवाद व्यक्त गरेका छन् ।
तर समाजवादीकी सुदूरपश्चिम इन्चार्ज गरिमा शाह लगायत उम्मेदवार दिलबहादुर सिहं पक्षले भने त्यसको विरोध गरेका छन् ।
बझाङमा समाजवादीले एमालेका उम्मेदवारलाई समर्थन गरेको भन्ने प्रचार झुटो भएको उक्त पक्षको दाबि छ । समाजवादीले अन्य कुनै दलका उम्मेदवारलाई समर्थन नगरेको स्पष्ट पार्दै जिल्ला कमिटिले विज्ञप्तीसमेत जारी गरेको छ ।