काठमाडौं: कोरियन भाषा परीक्षा उत्तीर्ण गरेर रोस्टरमा रहेका नेपाली युवाले सर्भिस सेक्टर ९सेवा क्षेत्र० परिवर्तन गर्न सक्ने भएका छन्। ईपीएस कोरिया शाखाले शुक्रबार सूचना जारी गर्दै कृषि तथा पशुपालन र उत्पादनमूलक क्षेत्रतर्फ रोस्टरमा रहेकाले सेवा क्षेत्र परिवर्तन गर्न सक्ने जनाएको हो।
सूचनाअनुसार २०२४ डिसेम्बर ३१ भित्र रोस्टर अवधि समाप्त हुने इच्छुकले सेवा क्षेत्र बदल्न पाउने भएका हुन्।
मानव संसाधन विकास ९एचआरडी० कोरियाले रोस्टर परिवर्तन गर्न सक्नेको नामावलीसहितको तालिका बिहीबार पठाएको ईपीएस कोरिया शाखाले जनाएको छ। शाखाका अनुसार ९ हजार ४२८ जनाको नाम प्राप्त भएको छ।
यदि कसैले पहिले रोजगारदाताले करार सम्झौता गरिसकेको वा रोस्टर अवधि समाप्त भइसकेको वा कुनै कारणले अयोग्य भएको भए सेवा क्षेत्र परिवर्तन गर्न पाइने छैन। सेवा क्षेत्र परिवर्तन गरिए पनि रोस्टरको अवधि थप हुने छैन। अघिल्लो रोस्टरको बाँकी अवधि बराबर नै हुने सूचनामा उल्लेख छ।
भाषा परीक्षा पास गरेर कोरिया रोजगारी पर्खिेबसेका हजारौं युवाले समस्या समाधानका लागि पहल गर्न श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डीपी अर्याललाई अनुरोध गरेका थिए। गुनासो प्राप्तपछि श्रममन्त्री अर्यालले कोरियाका सम्बन्धित निकायका पदाधिकारीसँग पटक–पटक छलफल गरेका थिए।
पछिल्लोपटक बुधबार मात्रै मन्त्री अर्यालले एचआरडी कोरिया मुख्यालयका प्रतिनिधि, एचआरडी कोरियाका नेपाल प्रतिनिधि, ईपीएस शाखा र कोरिया रिटर्नी एवं रोस्टरमा रहेकाबीच छलफल गराएका थिए। त्यसको भोलिपल्ट बिहीबार नै कोरिया पक्षले रोस्टर परिवर्तन गर्न सकिने निर्णय गरेको हो।