बझाङ प्रदेश सभा सदस्य क्षेत्र नं. १ को उपनिर्वाचनमा शान्तिपूर्ण रुपमा मतदान जारी छ । बिहान सात बजेदेखि ९३ वटा मतदान केन्द्रमा मतदान सुरु भएको प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइकेलले जानकारी दिए ।
मुख्य प्रतिस्प्रधी मानिएका एमाले र कांग्रेसका उम्मेदवारले आआफ्नो केन्द्रमा गएर मतदान गरेका छन् । एमाले उम्मेदवार दमनबहादुर भण्डारीले छबिस पाथिभेरा गाउँपालिका(१ को जनप्रिय माबि ‘क’ मतदान केन्द्रमा गएर मतदान गरेका छन् । त्यस्तै कांग्रेसका उम्मेदवार अभिषेक सिंहले जयपृथ्वी नगरपालिका(५ लुयाँटा माबि डिलवगर केन्द्रमा मतदान गरेका छन् ।
निर्वाचन क्षेत्रमा रहेका ३० हजार १९९ महिला र ३१ हजार ५४९ पुरुष मतदाता गरि कुल ६१ हजार ७४८ जनाले मतदान गर्ने निर्वाचन कार्यालयले जनाएको छ । कुल मतदान केन्द्रमध्ये २३ वटा अतिसंवेदनशील, २४ वटा संवेदनशील र २७ वटा सामान्य रहेको मतदान केन्द्रमा सोही अनुसार १५ सय सुरक्षाकर्मी परिचालन गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
कांग्रेसले सवारी दुर्घटनामा निधन भएका पृथ्वी बहादुर सिंहका छोरा अभिषेक बहादुर सिंहलाई उम्मेदवार बनाएको छ । एमालेबाट पार्टीका जिल्ला अध्यक्ष दमन बहादुर भण्डारीले उम्मेदवारी दिएका छन् । यहाँ मुख्य रुपमा यी दुई उम्मेदवारबीच नै प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।
कांग्रेस र एमालेबीच मुख्य प्रतिस्प्रधा हुने आंकलन गरिए पनि माओवादी केन्द्रले जनक बुढा र समाजवादीले दिलबहादुर सिंहलाई उम्मेदवार बनाएको छ । यी सँगै यहाँ अन्य १२ दलका उम्मेदवार चुनावी मैदानमा छन् ।