धनगढी : विवादमा अल्झिएको नागरिक उन्मुक्ति पार्टीका संरक्षकसमेत रहेका रेशमलाल चौधरीले आफ्नी जेठी पत्नी एवं पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठलाई पार्टी र सरकार चलाउन आग्रह गरेको जनाएका छन्। फेसबुकमार्फत उनले यस्तो जनाएका हुन्।
उनले पार्टीका महासचिव ठाकुरसिंह थारुलाई साक्षी राखेर पार्टी र सरकार चलाउन आग्रह गरेको बताए। यस्तै रेशमलालले श्रेष्ठसहितको भेटघाटबारे जानकारी दिदै आफूहरूले सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा सरकारलाई दिएको समर्थन फिर्ता लिने दाबी गरेका छन्।
यस्तै उनकी पत्नीसमेत रहेकी श्रेष्ठले पनि आफूहरूबीच कुनै समस्या नरहेको जिकिर गर्दै आएकी छन्। जबकी उनीहरूबीच पहिल्यैदेखि विवाद हुँदै आएकोमा सो विवाद अहिले सर्वोच्च अदालतमा समेत पुगेको छ।
सर्वोच्च अदालतले चौधरीले दायर गरेको रिटमा मिसिल कागज झिकाउन आदेशसमेत दिएको छ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले शुक्रवार रेशमले दायर गरेको रिटमा मिसिल कागज झिकाउन आदेश दिएको हो।
संरक्षक चौधरीले पार्टी अध्यक्ष श्रेष्ठ र निर्वाचन आयोगलाई विपक्षी बनाएर मुद्दा दायर गरेका थिए।
नागरिक उन्मुक्तिको टीकापुरमा पुस २७ गते सम्पन्न पहिलो महाधिवेशनले पार्टीको अध्यक्षमा रेशमलाई निर्वाचित गरेको थियो। तर त्यो निर्णयलाई निर्वाचन आयोगले वैधानिकता दिन अस्वीकार गर्यो।
आयोगले नागरिक उन्मुक्तिको अध्यक्षमा रञ्जितालाई नै सदर गरेपछि रेशमले निर्वाचन आयोग र रञ्जितालाई विपक्ष बनाएर उत्प्रेषणको आदेश जारी गरिपाऊँ भनी रिट निवेदन दायर गरेका थिए।
यस्तै रेशमलालको सहमतिबेगर सुदूरपश्चिम सरकारमा श्रेष्ठपक्ष सहभागी भएको छ। सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादीको नेतृत्वमा भौतिक विकास मन्त्री लिएर नाउपाका कैलाश चौधरी सरकारमा छन्।
रेशमलालले भने हालको गठबन्धनलाई समर्थन नगर्दै अडान राख्दै आएका थिए। सोही कारण पति-पत्नीको सम्बन्धमा पनि दरार आएको बताइन्थ्यो।