काठमाडौं : चीन सरकारले आगामी बुधबारदेखि नेपालबाट उता जाने नेपाली नागरिकलाई भिसा निःशुल्क गर्ने भएको छ । नेपालसँगको मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउन र नागरिकहरूको भ्रमण आदानप्रदानलाई थप सहज बनाउन उक्त निर्णय गरिएको बताइएको छ ।
काठमाडौंस्थित चिनियाँ राजदूतावासका अनुसार आगामी मे १ तारिख (बुधबार) देखि उक्त निर्णय लागु हुने छ । नियमित तालिकाबमोजिम भिसा आवेदन गर्नेलाई निःशुल्क गरिएको छ । जरुरी र अति जरुरी अर्थात् एक्सप्रेस २ र एक्सप्रेस १ मा भीसा आवेदन गर्नेलाई पहिलेको शुल्कको तुलनामा ५० प्रतिशत कम गरिएको छ ।
प्राप्त विवरणअनुसार एक्सप्रेस २ र एक्सप्रेस १ लाई क्रमशः एक हजार ३५० र दुई हजार तोकिएको छ । यसअघि उक्त शुल्क दुई हजार सात सय र चार हजार थियो ।
नेपालले चिनियाँ नागरिकलाई यसअघि नै भिसा शुल्क निःशुल्क गर्दै अनअराइभल भिसाको सुविधासमेत दिँदै आएको छ ।