काठमाडौं: नेपाल प्रहरीमा गृहमन्त्रीको अनावश्यक हस्तक्षेप बढेको पाइएको छ। पछिल्ला केही सरुवा एवं कारबाहीका प्रकरणहरुले गृहमन्त्री रवि लामिछानेको प्रहरी संगठनभित्रको नाङ्गो हस्तक्षेप उदाङ्गो पारेको हो। रविको बलमिच्याईमा परेका नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक (आइजीपी) वसन्त बहादुर कुँवर संगठनभित्र ‘रबर स्ट्याम्प’मा मात्रै सिमित बनेको चर्चा छ।
यसको पुष्टि पछिल्लोपटक काठमाडौंसहितका एसएसपीको अवधि नपुग्दै गरिएको सरुवा, प्रहरीको सरुवा मापदण्डविपरीत गृहमन्त्री लामिछानेको निर्देशनमा बिना कारण गरिएको जिम्मेवारी हेरफेर एवं एसपीहरुमाथिको कारबाही र डीएसपी तथा एसपी बढुवा प्रकरणले गरेको छ।
गृहमन्त्रीको ठाडो हस्तक्षेपमा आइजीपी कुँवर निरीह बन्दा लामिछाने गृहमन्त्रीमा आएपछिका सरुवा बढुवा सबै विवादित बनेका थिए। अस्ति शुक्रबारमात्रै गृहमन्त्री लामिछानेले आइजीपी कुँवर नेपालबाहिर रहेकै बेला नेपाल प्रहरीका ६ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरुको सरुवा गरेका थिए।
उनीहरू नियमित नभई बिनाकारण कारबाही गरेजस्तै गरि सेवा अवधि बाँकी छँदै जिम्मेवारीबाट हटाइएका थिए। सो निर्णयमा आइजीपी कुँवरले आफूले नेपालमा छदै हस्ताक्षर गरेर गएको भएपनी सरुवा भैजानेमा भने गृहमन्त्री निकटका मात्रै परेको देखिएको छ। जसमा गृहमन्त्री लामिछानेले काबिल अफिसर मानिने जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भुपेन्द्र खत्रीलाई हटाएर अपराध अनुसन्धान विभागका विवादित (एसपी हुँदा कारबाही भोगेका) एसएसपी वसन्त रजौरेलाई काठमाडौं प्रहरी प्रमुखको कमाण्ड दिए।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठौरलाई राष्ट्रिय सुरक्षा परिषद्मा सरुवा गर्दै सुरक्षा परिषद्मा रहेका एसएसपी सानुराम भट्टराईलाई जिम्मेवारी दिए। यस्तै उनीहरुसँगै प्रहरी प्रधान कार्यालयको तालिम सेवा निर्देशनालयका एसएसपी अभिनारायण काफ्लेलाई कोशी प्रदेश तालिम केन्द्रमा पठाउँदा त्यहाँका एसएसपी राजन अधिकारीलाई काफ्लेको ठाउँमा सरुवा भयो।
लामिछानेले गृहमन्त्री बने लगत्तै काठमाडौं प्रहरीका प्रमुख खत्री र अपराध अनुसन्धान कार्यालयका प्रमुख राठौरको सरुवा गरेर आफू निकटस्थलाई पठाउन खोजेका थिए। तर त्यसबेला आइजीपीको आग्रहमा उनले केही समय लम्ब्याएका थिए। तर अहिले भने आइजीपीसमेतको सहमतिमै सरुवा भएको बताइएको छ। सरुवाका बखत आइजीपी भने इन्टरपोलको महासभामा भाग लिन लियोन (फ्रान्स) तर्फ गएका थिए।
यसअघि कांग्रेसले पठाएका एसएसपीहरु भन्दै लामिछाने हतारहतार एसएसपीको सरुवा गरेको बुझिएको छ। यसैक्रममा गृहमन्त्री लामिछानेले डीआईजी दुर्गा सिंह चन्दलाई पनि गण्डकी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सुम्पिएका छन्। त्यस अगाडी प्रहरीको सरुवा मापदण्डविपरीत गृहमन्त्रीकै निर्देशनमा बिना कारण जिम्मेवारी सम्हालेको डेढ महिनामै केही एसपीहरु पनि तानिएका थिए।
त्यसबाहेक अलिक पहिले गरिएका डीएसपी र एसपीको बढुवामा पनि गृहमन्त्री र आइजीपीको बदनाम भएको थियो। कानुनले एसपीसम्मको सरुवा बढुवाको अधिकार आइजीपीलाई दिएकोमा गृहमन्त्रीको हस्तक्षेपले आइजीपी डमी बनेको जानकारहरुको भनाई छ।जबकी गृहमन्त्री बनेपछि २७ फागुन २०८० मा प्रहरी हेडक्वार्टरको निरीक्षण गर्दै लामिछानेले संगठनमा कुनै हस्तक्षेप नगर्ने दाबी गरेका थिए।
अहिले उनै लामिछानेले हस्तक्षेपमात्र होइन, करिब ८० हजार प्रहरीका प्रमुखलाई नै बेकामे बनाएर राखेका छन्। सोही कारण बेलाबेला आइजीपीले गृहमन्त्रीविरुद्ध अनेकन कुरा लगाउने गरेको पनि सुनिन्छ।