धनगढी: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले सत्तारुढ गठबन्धनको बैठक बोलाएका छन् ।
बैठक बिहान ९ बजे मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्दैछ ।
६ वैशाखमा एमाले, माओवादी र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका सोडारीले सरकार विस्तार र विश्वासको मतका विषयमा छलफल गर्न बैठक बोलाएका हुन् ।
नेकपा माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता मानबहादुर धामीले मुख्यमन्त्रीले बोलाएको बैठकमा विश्वासको मत र सरकार विस्तारका बारेमा छलफल हुने बताए ।
स्रोतकाअनुसार मुख्यमन्त्री सोडारीले मंगलबार नै सरकार विस्तारको तयारी गरेका छन् । सोडारीले नागरिक उन्मुक्ति पार्टीकी प्रदेश सभा सदस्य टीका थापालाई मन्त्रीमा नियुक्त गर्ने सम्भावना छ । बिहीबार वा शुक्रबार भित्र विश्वासको मत लिने मुख्यमन्त्रीको तयारी छ ।
सोडारीले नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरीलाई भौतिक पूर्वाधार विकास मन्त्रीमा नियुक्त गरे पनि एमाले र माओवादी केन्द्रले तत्काल सरकारमा जाने इच्छा नदेखाएपछि अरु मन्त्रालय आफैसँग राखेका छन् । मंगलबार माओवादीबाट समेत मन्त्री बनाउने प्रयासमा मुख्यमन्त्री छन् ।
तर, माओवादी केन्द्रका संसदीय दलका नेता धामीले भने सरकार विस्तार र भागबण्डामा गठबन्धनभित्र समस्या नहुने भन्दै अहिले विश्वासको मत लिने विषयमा मात्र छलफल केन्द्रीत हुने दाबी गरेका छन् ।
एमालेका १०, माओवादी केन्द्रका १०, नागरिक उन्मुक्ति पार्टीका ७ र एकीकृत समाजवादीका ४ जना प्रदेश सभा सदस्यको समर्थनमा सोडारी मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
सोडारीले नागरिक उन्मुक्ति पार्टीका ७ जनाको समर्थन देखाए पनि अहिलेसम्म अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षका दुई जना मात्र उनको पक्षमा उभिएका छन् भने संरक्षक रेशम चौधरी पक्षका ५ जना विपक्षमा छन् ।
२ वैशाखमा मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरी र लक्ष्मणकिशोर चौधरीले दाबी पेस गरेका थिए तर प्रदेश प्रमुख नजिर मियाँले एउटै पार्टीबाट दुई जनाको दाबी परेपछि निष्कर्षमा पुग्न नसकिएको भन्दै पुनः सरकार गठनका लागि आह्वान गरेका थिए ।
उक्त समयमा सोडारीले दाबी पेश गरेपछि प्रदेश प्रमुखले नियुक्त गरेका थिए तर नाउपाका लक्ष्मणकिशोर चौधरी भने सोडारीविरुद्ध सर्वोच्च गएका छन् ।
सोडारी समेतका बहुमत सांसदले आफूलाई समर्थन गरेका कारण आफूलाई मुख्यमन्त्री नियुक्त गर्नुपर्ने उनको माग छ ।