काठमाडौँ: सुदुरपश्चिम प्रदेशमा एमाले र माओवादी तत्काल सरकारमा नजाने भएका छन् । उनीहरू मुख्यमन्त्रीले विश्वासको मत पाएपछि मात्रै सरकारमा जानेबारे छलफल भएको बुझिएको छ ।
नागरिक उन्मुक्ति पार्टी लाई थप एक मन्त्रालय दिन भने सुदुरपश्चिममा सत्ता साझेदार दल सहमत भएका छन् । आज बसेको प्रदेशका सत्ता साझेदार दलको बैठकले नाउपालाई थप एक मन्त्रालय दिने सहमति भएको एकीकृत समाजवादीका सांसद प्रकाश रावलले जानकारी दिए ।
‘नाउपाबाट पहिला नै एक जना मन्त्री भइसक्नुभएको छ । थप मन्त्रालयसहित अर्को एकजनालाई पनि मन्त्री बनाउने सहमति भएको हो । नाउपाबाट यसअघि कैलाश चौधरी भौतिक मन्त्रीको शपथ खाइसकेका छन् ।
त्यस्तै मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आगामी शुक्रबारसम्म विश्वासको मत लिने गरी छलफल भएको रावलले जानकारी दिए । एकीकृत समाजवादीसहित एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र प्रदेश सभा सदस्य जोशीको समर्थनमा सोडारी ६ वैशाखमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।