धनगढी : सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री दीर्घ सोडारीले मन्त्रालय फुटाउने तयारी गरेका छन् ।
सुदूरपश्चिम सरकारका ६ मन्त्रालयमध्ये भौतिक पूर्वाधार र कृषि मन्त्रालय नाउपाले लिइसकेको छ । अब बाँकी चार वटा मन्त्रालयलाई फुटाएर सात मन्त्रालय बनाउने तयारी भइरहेको छ । मुख्यमन्त्री सोडारी दलहरुलाई भाग पुर्याउन मन्त्रालय फुटाउने रणनीति लिएका हुन ।
सामाजिक विकास, भौतिक पूर्वाधार र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय फुटाएर तीन मन्त्रालय थप्नेबारे छलफल चलिरहेको छ ।
धेरै मन्त्रालय फुटाउदा राम्रो सन्देश नजाने भएकाले भौतिक पूर्वाधार विकास मन्त्रालय फुटाएर सहरी विकास मन्त्रालय बनाउने विकल्पमा पनि छलफल भएको छ । यसो भएमा माओवादी केन्द्र र एमालेले २/२ मन्त्रालय लिनेछन् भने स्वतन्त्र प्रदेश सभा सदस्य डा.ताराप्रसाद जोशी पनि मन्त्री हुनेछन् ।
एमाले विश्वासको मत दिएर सोडारी नेतृत्वको सरकारमा जान तयार भएको छ ।
बझाङको उपनिर्वाचनमा एकीकृत समाजवादीले आफ्ना उम्मेदवारलाई हराउन भूमिका खेल्ने एमालेको आशंका थियो । त्यसो गरेमा विश्वासको मत नदिने एमालेको नीति थियो । तर आफ्नो उम्मेदवारलाई जिताउन एकीकृत समाजवादीले भूमिका खेलेपछि एमालेले सरकारमा जाने तयारी गरेको छ ।
मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिन केन्द्रीय नेतृत्वले निर्देशन नै दिइसकेको छ । एमाले र माओवादीसँगै सोडारीले स्वतन्त्र सांसद जोशीलाई मन्त्री बनाउने तयारी गरेका छन् ।