दार्चुला – नेकपा एमालेका पोलिटव्यूरो सदस्य तथा सुदूरपश्चिम सह इन्चार्ज गणेशसिह ठगुन्नाको जिल्लाभरी दौडधुप चलेको छ ।
स्थानीय तह निर्वाचन आउने दिन नजिकिदै गर्दा ठगुन्नाको दौडधुप चलेको हो । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि संघीय सांसद समेत रहनुभएका ठगुन्नाको दौडधुप सुरु भएको हो ।
महाकाली नगरपालिकाको पौनेखोलाबाट सुरु भएको ठगुन्नाको दौडधुप मंगलबार मालिकार्जुन पुगेको छ ।
सोमबार नौगाड गाउँपालिकाको चुनावी आमसभा तथा कार्यकर्ता प्रवेश कार्यक्रम सकि ठगुन्ना मंगलबार मालिकार्जुन पुग्नुभएको छ । उहाँले मालिकार्जुन गाउँपालिका वडा नम्बर १ र २ का कार्यकर्ता भेटघाट गरि मालिकार्जुन ८ स्थित एमाले मालिकार्जुनको प्रचार प्रसार समितिको कार्यालय उद्घाटन गर्नुभएको छ ।
९ वटै स्थानीय तहमा पुग्ने गरी ठगुन्नाको कार्यक्रम सार्वजनिक भएको छ । सत्तारुढ दलले जिल्लामा गठबन्धन गरेपछि एमाले जिल्ला कमिटी इन्चार्ज समेत रहनुभएका ठगुन्नाले जिल्ला दौड गर्नुभएको हो ।
उहाँले यसअवधिमा व्यास, दुहुँ, महाकाली नगरपालिका, नौगाड गाउँपालिका हुँदै मालिकार्जुन पुग्नुभएको छ । उहाँले निर्वाचन हुने अघिल्लो दिनसम्म जिल्लाभरीका सबै स्थानीय तहका बस्तीमा पुगेर भेटघाट गर्ने कार्यक्रम रहेको छ ।जिल्लाभरीको मतभारको आधारमा गठबन्धन बलियो देखिएपछि जिल्ला इन्चार्ज समेत रहनुभएका ठगुन्ना आफै एमालेका उम्मेदवारको लागि माहोल बनाउन जिल्ला दौडधुपमा खटिएका हुन् ।
एमालेको आक्रमक चुनावी अभियान
नेकपा एमालेले दार्चुलामा आक्रमक चुनावी अभियान सञ्चालन गरेको छ । जिल्लाका सबै तहमा गठबन्धन एक भएर गएपछि आक्रमक चुनावी अभियान सञ्चालन गरेको हो । गठबन्धनका विरुद्धको चुनावी अभियान पोलिटव्यूरो सदस्य एवं सुदूरपश्चिम सहइन्चार्ज गणेशसिह ठगुन्नाले आफै कमाण्ड सम्हाल्नुभएको छ ।उहाँले ९ बुद्धे प्रतिबद्धता लिदै जिल्लाभरी चुनावी अभियान सञ्चालन गर्नुभएको छ ।उहाँले शिक्षामा प्राथमिक तहमा कक्षागत र माध्यमिक तहमा विषयगत शिक्षक व्यवस्थापनमा जोड दिनुभएको छ ।
एकल पुरुषदेखि अपांगता भएका व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने, दलित लगायत आरक्षित बजेटको व्यवस्थापन, विरामीलाई उपचारको व्यवस्था देखि प्रधानमन्त्री रोजगार कार्यक्रममा नागरिकलाई समेट्ने गरी एमालेले नीति कार्यक्रम अघि सारेको छ । एमालेले अहिले सत्तारुढ गठबन्धनले समावेशीताका कुरा विर्षेका कुरालाई चुनावी एजेण्डा बनाएर अघि बढ्नुभएको छ ।
महिला अधिकार हनन् गरे व्यक्ति विशेषलाई नेता बनाउने गरी गठबन्धन अघि बढेको बताउँदै महिलाको पक्षमा आवाज बुलन्द गरेका छन् । गठबन्धनले संविधानको मूल मर्म विर्षेको तथा संविधाले सुनिश्चिता गरेको अधिकार गठबन्धनले कटौती गरेको कुरालाई जनता समक्ष पुर्एका छन् । यो पटक दार्चुलामा गठबन्धनले व्याँस गाउँपालिका, नौगाड गाउँपालिका र अपिहिमाल गाउँपालिकामा महिला उपाध्यक्ष नबनाएर पुरुष बनाएपछि एमालेले मुख्य विषयवस्तु उठान गरेको छ ।यी तीनै स्थानीय तहमा अध्यक्ष र उपाध्यक्षमा दुवै पुरुष छन् ।
संविधानले अध्यक्ष या उपाध्यक्षमा एउटा महिला अनिवार्य बाध्यकारी व्यवस्था गरेको छ । यस्तै गठबन्धनप्रति असन्तुष्टल व्यक्तिलाई पार्टीमा भित्र्याउने तथा उनीहरुको जनमत आफुतिर तान्ने गरी एमालेले रणनीति बनाएको छ ।
अहिलेको गठबन्धनप्रति अधिकांश नेता कार्यकर्ता असन्तुष्ट छन् । ०७४ को स्थानीय तह निर्वाचनमा ३ स्थानीय तहमा जितेको एमालेले यो पटक गठबन्धनको सामना गर्दैछ । एमालेले आफुले जितेका स्थानीय तह गुम्न नदिने तथा थप स्थानीय तह जितेर आफु जिल्लााको पहिलो शक्ति स्थापित गर्ने दाउँमा एमाले छ ।