धनगढी : राष्ट्रिय महिला लिग छनोटमा सुदूरपश्चिमकी यशोदाकुमारी चिराल उच्च गोलकर्ता चयन भएकी छिन् ।
प्रतियोगितामा आठ गोल गरेकी यशोदा उच्च गोलकर्ता चयन भएकी हुन ।
प्रतियोगिताको अन्तिम खेलमा बिहीबार सुदूरपश्चिम प्रदेशले लुम्बिनी प्रदेशविरुद्ध ३–० को जित निकाल्दै लिगको सुखद अन्त्य गरेको छ ।
यो जितसँगै ६ खेलबाट १५ अंकसहित सुदूरपश्चिमले दोस्रो स्थानमा रहँदै प्रतियोगिता टुंग्यायो । सात प्रदेशको सहभागिता रहेको प्रतियोगिताबाट कोसी प्रदेश च्याम्पियन हुँदै छनोट हुँदा सुदूरपश्चिम दोस्रो र कर्णालीले तेस्रो स्थानमा रहेर लिगको यात्रा निश्चित गरेका हुन् ।
प्रतियोगितामा बलियो मानिएको मधेस प्रदेश भने चौथो स्थानमा रहँदै बाहिरिएको छ । मधेसलाई राष्ट्रिय लिगमा छनोट हुन बिहीबार कर्णालीले हार्नुपर्ने समीकरण थियो । तर, कर्णालीले गण्डकीविरुद्ध सहज जित निकालेसँगै मधेसको सम्भावना सकिएको हो ।
लिग लिडर कोसी अपराजित रहँदा ६ खेलबाट १६ अंक जोड्न सफल रह्यो । दोस्रो स्थानको सुदूरपश्चिमले ६ खेलबाट १५ र तेस्रो स्थानको कर्णालीले ६ खेलबाट १२ अंक जोडेका छन् ।
चौथो स्थानमा सीमित बनेको मधेसले ६ खेलबाट नौ अंकमात्र जोड्न सक्यो । तीन खेलमा जित निकालेको मधेसले एक खेलमा बराबर र दुई खेलमा हारको सामना गरेको थियो ।
पाँचौँ स्थानको गण्डकीले ६ खेलबाट ६ अंक जोड्यो । छैटौँ स्थानको लुम्बिनीले तीन अंक जोडेको छ । तालिकाको पुछारमा रहेर प्रतियोगिताको अन्त्य गरेको वाग्मती भने अंकविहीन रह्यो । वाग्मतीले प्रतियोगिताको सबै खेलमा हार बेहोरेको हो ।