कैलाली– प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा सुदूरपश्चिम आउँदैछन् । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन प्रचारप्रसारका लागि प्रधानमन्त्री देउवा यहाँ आउन लागेका हुन् ।
देउवा चुनावी सभालाई सम्बोधन गर्न देशका विभिन्न ठाउँमा पुग्ने कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले मंगलबार विज्ञप्तिमार्फत जानकारी दिएका छन् । उनका अनुसार सभापति देउवाले वैशाख २६ गते कैलालीको धनगढी तथा वैशाख २७ गते गृह जिल्ला डडेलधुरामा हुने चुनावी सभालाई सम्बोधन गर्ने छन् ।
कांग्रेस र गठबन्धन जिताउन देउवासहित पार्टीका शीर्ष नेताहरूले विभिन्न स्थानमा हुने सभालाई सम्बोधन गर्ने पौडेलले बताएका हुन् ।
देउवाले वैशाख २१ गते मोरङको विराटनगर, वैशाख २२ गते चितवनको भरतपुर, वैशाख २३ गते काठमाडौंमा सम्बोधन गर्ने छन् । यस्तै, वैशाख २४ गते बिहान ११ बजे रूपन्देहीको वुटवल तथा सोही दिन मध्याह्न साढे १२ बजे तनहुँको दमौली, दिउँसो २ बजे धनुषाको जनकपुरमा सम्बोधन गर्ने छन् ।
उनले वैशाख २५ गते बिहान ११ बजे कास्कीको पोखरा, दिउँसो २ बजे दाङको तुलसीपुरमा हुने चुनावी सभालाई सम्बोधन गर्ने छन् ।