धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले आज विश्वासको मत लिने तयारी गरेका छन् । १८ गते नै उनले सुदूरपश्चिम प्रदेश सभामा विश्वासको मतको लागि (आज) २१ गते प्रदेश सभा बैठक आह्वान गर्न भन्दै पत्र पठाइसकेका थिए ।
सोही सूचनाको आधारमा आज प्रदेश सभा बैठक आह्वान गरिएको सुदूरपश्चिम प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले जानकारी दिए ।
शुक्रबार बिहान ८ बजे कार्य व्यवस्था परामर्श समितिको बैठक पनि आह्वान गरिएको छ । ८ बजे कार्य व्यवस्था परामर्श समितिको बैठक बस्ने र ५ बजे मुख्यमन्त्री सोडारीले विश्वासको मत लिने नेकपा एकीकृत समाजवादीका उपनेता प्रकाश रावलले जानकारी दिए ।
दिउँसो नेकपा एकीकृत समाजवादीले संसदीय दलको बैठक राखेर मुख्यमन्त्री सोडारीको पक्षमा विश्वासको मत दिन ह्विप लगाउने समेत तयारी भएको बताए ।
यता माओवादी केन्द्रले पनि ११ बजे संसदीय दलको बैठक राखेर मुख्यमन्त्री सोडारीको पक्षमा विश्वासको मत दिन ह्विप लगाउने तयारी भएको माओवादी संसदीय दलका नेता मानबहादुर धामीले बताए ।
केन्द्रमा माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सुदूरपश्चिम सरकारलाई विश्वासको मत दिने छलफल भएको समेत उनले जिकिर गरे ।
बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दाहाल र ओलीबिच छलफल भएको हो । उनीहरूबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइन्छ ।
एमाले नेताहरू पनि विश्वासको मत दिने गरि केन्द्रबाट त्यस्तो कुनै निर्णय नआएको बताउँछन् ।
एमाले शीर्ष नेताहरूले सुदूरपश्चिम प्रदेशमा सोडारी सरकारलाई विश्वासको मत दिन कुनै निर्देशन जारी गरेका छैनन् । एमाले संसदीय दलका नेता तथा सदस्यहरू पनि २१ गते पछि मात्र विश्वासको मतका बिषयमा निर्णय हुने बताउँछन् ।
एमाले स्थायी कमिटी सदस्य कर्ण थापाले बझाङ प्रदेशसभा सदस्यका लागि वैशाख १५ मा भएको उपनिर्वाचनमा एकीकृत समाजवादीले सहमति विपरीत एमाले उम्मेदवार हराउन लागि परेकाले सुदूरपश्चिम सरकारबारे सोच्नुपर्ने अवस्था आएको बताए ।