धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले आज विश्वासको मत लिने तयारी गरेका छन्। १८ गते नै उनले सुदूरपश्चिम प्रदेश सभामा विश्वासको मतको लागि २१ गते प्रदेश सभा बैठक आह्वान गर्न भन्दै पत्र पठाइसकेका थिए।
सोही सूचनाको आधारमा आज ५ बजेको लागि प्रदेश सभा बैठक आह्वान गरिएको सुदूरपश्चिम प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले जानकारी दिए।
मुख्यमन्त्री सोडारीले आज बिश्वासको मत लिने तयारी गरेपनि संसद् बस्ने विषय भने अझै अनिश्चित छ।
यसैक्रममा नाउपाले सोडारी नेतृत्वको सरकारलाई विश्वासको मत नदिन उर्दी जारी गरेको पाइएको छ। नाउपा सुदूरपश्चिमका संसदीय दलका सचेतक खुसीराम डगौराले सो उर्दी जारी गरेको पाइएको हो।
नागरिक उन्मुक्ति पार्टीको संसदीय दलले सोडारी नेतृत्वको सरकारमा सहभागी भौतिक पूर्वाधार विकास मन्त्री कैलाश चौधरी र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री टीका थापाको नाममा ह्विप जारी गरेको हो।
मन्त्रीद्वय चौधरी र थापा नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षका मानिन्छन्। नाउपामा रेशमलाल चौधरी पक्ष र श्रेष्ठ पक्षको मतभेद जारी छ।