धनगढी : नेकपा एमालेले सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर साेडारीलाई शनिबार पनि विश्वासको मत नदिने भएकाे छ।
मुख्यमन्त्री साेडारीले शुक्रबार नै विश्वासको मत लिने तयारी गरेकाे थिए तर एमालेले साेडारीले हतार गरेकाे भन्दै विश्वासको शुक्रबार नै मत नदिने अडान लिएपछि सभामुख भीमबहादुर भण्डारीले शनिबार साँझ साढे ५ बजेका लागि प्रदेश सभाकाे बैठक बाेलाएका थिए ।
शुक्रबार विश्वासको मत नदिने अडान लिएकाे एमाले सुदूरपश्चिम संसदीय दलका नेता राजेन्द्र रावल र प्रमुख सचेतक शिर्ष तहमा सल्लाह गर्न भन्दै शनिबार काठमाडौं गइरहेका छन् ।
श्रीएयरलाइन्सकाे विमानमार्फत काठमाडौं प्रस्थान गर्न धनगढी विमानस्थल पुगेका संसदीय दलका नेता रावलले विश्वासको मतबारे पार्टी नेतृत्वसँग सल्लाह गर्न गइरहेको बताए ।
“उहाँ(मुख्यमन्त्री) ले व्यक्तिगत रूपमा निर्णय गर्नुभएको हाे । विश्वासको मत दिने बारेमा पार्टीमा कुनै छलफल भएकाे छैन,” रावलले भने, “पार्टी नेतृत्वसँग सल्लाह गर्न काठमाडौं जादैछाैँ ।”
एमाले संसदीय दलका नेता र प्रमुख सचेतक काठमाडौं हिडेपछि शनिबार पनि मुख्यमन्त्री साेडारीले विश्वासको मत लिन नसक्ने देखिएकाे छ ।
एकीकृत समाजवादी संसदीय दलका नेता साेडारी ६ बैशाखमा एमाले, माओवादी, नागरिक उन्मुक्ति पार्टीको रञ्जिता श्रेष्ठ पक्ष र स्वतन्त्र प्रदेश सभा सदस्य डा. ताराप्रसाद जाेशीकाे समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
त्यसअघि साेडारीले २ बैशाखमा नेपाली कांग्रेससँग मिलेर नागरिक उन्मुक्तिकाे रेशम चाैधरी पक्षका लक्ष्मणकिशाेर चाैधरीलाई मुख्यमन्त्रीमा समर्थन गरेका थिए तर एमाले, माओवादीकाे समर्थनमा नाउपाका कैलाश चाैधरीले पनि दाबी गरेपछि प्रदेश प्रमुख नजिर मियाँले दाेस्रो पटक आह्वान गरेपछि साेडारीले लक्ष्मणकिशाेरलाई दिएकाे समर्थन फिर्ता लिएकाे पत्र बुझाएर आफूले दाबी गरेका थिए ।