धनगढी: कैलालीको चिसापानीस्थित कर्णाली नदीमा सशस्त्र प्रहरीको प्रदेशस्तरिय जलउत्पन्न प्रकोप तथा आगलागी सम्बन्धी कृतिम घटना अभ्यास सम्पन्न भएको छ। हिजो (शुक्रवार) सशस्त्र प्रहरी बल, नेपाल नं.७ बैद्यनाथ वाहिनी मुख्यालय कैलाली तथा सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयको संयोजनमा उक्त अभ्यास सम्पन्न भएको हो।
वाहिनीका प्रवक्ता एवं एसएसपी रमेश कुमार पाण्डेले कैलाली लम्कीचुहा नगरपालिका-३ चिसापानीस्थित कर्णाली नदीको किनारामा उक्त कार्यक्रम आयोजनामा गरिएकोमा सम्पन्न भएको जानकारी दिए। उनका अनुसार कार्यक्रममा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव सुशिल कुमार बैद्यको पनि उपस्थिति थियो। उक्त कार्यक्रममा करीब ३०० जनाको उपस्थितिमा आगलागी, मनसुनको सुरुवातसंगै हुनसक्ने जल उत्पन्न प्रकोप (बाढी, पहिरो, डुबान) तथा प्रतिकार्यका निमित्त विपद् व्यवस्थापन जोखिम न्यूनीकरण सम्बन्धी कृत्रिम अभ्यास गरिएको थियो।
सो अवसरमा जलद्वरा उत्पन्न हुने विभिन्न प्रकोपका घटनामा परेका÷फसेका व्यक्तिहरुलाई नदी वा पानीमा नपरी डोरी र लाठीको सहायताद्वारा गरिने ड्राई रेस्क्यू, वोटद्वारा गरिने रेस्क्यू, विभिन्न इम्प्रोभाइज फ्लोटिङ्ग डिभाईसद्वारा गरिने रेस्क्यू, अपर वाटर रिभर क्रसिङविधिद्वारा गरिने उद्धार अभ्यासहरु र उद्धारकद्वारा पौडी खेलेर पानीमा डुब्न लागेका व्यक्तिको उद्धार अभ्यासको प्रदर्शनी गरिएको थियो।
सो कार्यक्रममा घोडाघोडीका नगरप्रमुख, जोशीपुरका प्रमुख, कैलाली जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल नं. ७ बैद्यनाथ वाहिनी मुख्यालय कैलालीका वाहिनीपति, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक लगायत विभिन्न विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको समेत सहभागीता थियो।
सशस्त्र प्रहरी बल नेपाल विपद् उद्धार कार्यमा दक्ष जनशक्ति रहेको सुरक्षा संगठन हो। विपद व्यवस्थापनमा बङ्गलादेश र नेपालमै तालिमप्राप्त गोताखर जनशक्ति सशस्त्र प्रहरीमा छन्। सशस्त्रको आफ्नै विपद व्यवस्थापन तलिम केन्द्र कुरिनटारमा छ। हालै मात्र हरेक प्रदेशमा सशस्त्र प्रहरीले विपद व्यवस्थापनको कार्य मात्र गर्ने डिएसपीको कमान्ड युनिट स्थापना गरिएको छ।