दार्चुला– आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा खटिने कर्मचारीमा राजनीतिकरण भएको भन्दै नेपाल निजामति कर्मचारी संगठनले आपत्ति जनाएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सोमबार निर्वाचन अधिकृत र सहायक निर्वाचन अधिकृतको सूची सार्वजनिक गरेपछि कर्मचारी संगठनले आपत्ति जनाएको हो ।
कर्मचारी संगठनले विज्ञप्तीमा ट्रेड युनियनका पदाधिकारी समावेश गरिएको, अधिकृत र जेष्ठ नायवसुबवा कर्मचारी नखटाएको, मापदण्ड विपरित सीमित विद्यालयका शिक्षक मतदान अधिकृतमा खटाएको, जेष्ठता र तहलाई ख्याल नगरिएको आरोप लगाएको छ । यस्तै निर्वाचनमा करारका कर्मचारी खटाएको, उम्मेदवारका आफन्तलाई निर्वाचनमा खटाएको विज्ञप्तीमा भनिएको छ ।
स्थानीय निर्वाचन जनशक्ति व्यवस्थापन निर्देशिका २०७८ विपरित कर्मचारी खटनपटनप्रति ध्यानाकर्षण भएको कर्मचारी संगठनले ठहर गेरेको छ । मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यले भने निर्वाचन कार्यालयले दिएको कर्मचारीहरुको लिष्टका आधारमा कर्मचारीहरुलाई मतदान स्थलमा अधिकृत र सहायक मतदान अधिकृतको रुपमा खटाइएको जनाएको छ ।
कुनै ट्रेड युनियनका पदाधिकारी परेका छन् भने आधिकारिक रुपमा जानकारी भएपछि सच्याइने उहाँले बताउनुभयो ।जहाँसम्म करारका कर्मचारी र जेष्ठताका आधारमा कर्मचारी खटाइएको विषयमा एकै मतदान स्थलमा त्यस्तो नभएको र कसैले लिखित र प्रमाणका आधारमा मुख्य निर्वाचन कार्यालयमा जानकारी आए त्यस्तो विषय सच्याइने आचार्यको भनाई छ ।
स्थानीय तह निर्वाचनका लागि दार्चुला जिल्लामा १ सय ३९ वटा मतदान स्थल रहेका छन् । पाँच सय भन्दा कम मतदाता भएको मतदान केन्द्रमा मतदान अधिकृत, सहायक अधिकृत सहयोगी कर्मचारी गरी ४ जना र पाँच सय भन्दा बढी मतदाता भएको मतदान केन्द्रमा पाँच जना कर्मचारी खटिने बताइएको छ ।
निर्वाचनमा खटिने कर्मचारीहरुको अन्तिम नामावली बैशाख २१ गते भित्र तोकिसक्ने र बैशाख २७ गते कर्मचारी सम्बन्धित मतदान केन्द्रमा पुगिसक्ने मुख्य निर्वाचन अधिकृत आचार्यले जानकारी दिनुभयो ।
मतदान अधिकृत र सहायक मतदान अधिकृतको लागि बैशाख २२ र २३ गते सदरमुकाम खलंगामा अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको जिल्ला निर्वाचन अधिकारी प्रदीपसिह धामीले जानकारी दिनुभयो ।