रुकुमपश्चिम– नेकपा माओवादी केन्द्रका आधिकारिक र बागी उम्मेदवारबीच झडप भएको छ । रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका–१ मा माओवादी केन्द्रबाट उम्मेदवार लक्ष्मण ओली र बागी उम्मेदवार सुन्दर ओली पक्षबीच झडप भएको हो ।
मंगलबार बिहान भएको झडपमा ६ जना घाइते भएका छन् । घाइते हुनेमा धर्मेन्द्र सुनार, जीवन पुन, टीकाजंग मल्ल, बलबहादुर पुन, चेतन केसी र यमबहादुर पुन छन् । घाइतेमध्ये धर्मेन्द्र, जीवन र टीकाजंगको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक विष्णुप्रसाद सोतीका अनुसार उनीहरूलाई नेपालगन्जस्थित कोहलपुर मेडिकल कलेजमा पठाइएको छ ।
सुन्दरले माओवादी केन्द्रबाट टिकट नपाएपछि बागी उम्मेदवारी दिएका थिए । उनी माओवादी केन्द्रका त्रिवेणी गाउँपालिका उपाध्यक्षसमेत थिए । बागी उम्मेदवारी दिएका कारण पार्टीले अहिले उनलाई ६ महिनाका लागि निलम्बन गरिसकेको छ ।