काठमाडौं: कञ्चनपुरमा नेपाली काँग्रेसभित्र गुटबन्दी पुरानै हो। सो गुटबन्दीकै कारण केही नेताहरु राजनीतिक रुपमा सहिदसमेत भएको बताइन्छ।
हालसम्म आइपुग्दा त्यहाँ काँग्रेसभित्र २ गुट छन्। एक गुट प्रतिनिधि सभा सदस्य एवं नेता रमेश लेखकले चलाउछ्न् भने अर्को गुट प्रतिनिधि सभा सदस्य एवं नेता एनपी साउदले।
उनीहरू दुबैजना पूर्वमन्त्रीसमेत हुन्। निर्वाचनका समयमा उनीहरू दुबैले एक अर्कालाई हराउन लाग्नेदेखि राजनैनिक दुश्मनी नै लिने गरेको बताइन्थ्यो।
अहिले पनि नेता लेखकले जिल्लामा आफ्नो पकड बलियो बनाउदै लैजाने रणनीति अपनाएका छन्। सोही अनुरुप उनले जिल्ला केन्द्रित गतिविधि बढाइरहेका बेला एनपी भने जिल्लामा खासै नदेखिएको बुझिएको छ।
यस अगाडि सरकारमा परराष्ट्र मन्त्री हुँदा पनि उनले खासै काम गर्न नसकेको त्यहाँका कार्यकर्ताकै गुनासो छ।
यसैक्रममा एनपीप्रति बढ्दो असन्तुष्टिका बीच नेता लेखकले मुभमेन्टहरु बढाएको काँग्रेस जिल्ला कार्यसमितिका एक नेताले बताए। उनका अनुसार कञ्चनपुरमा एनपी रक्षात्मक बन्दै गएका छन् भने लेखक बलियो बन्दै गएका छन्।
हालै केही दिन अगाडीमात्र जिल्ला पुगेर लेखकले हालका पार्टीका जिल्ला सचिव भीम भट्ट, पुराना नेता दिवाकर पाण्डे, पूर्व पार्टी सभापति हरि बोहरा लगायतलाई भेटेको बताइएको छ। एनपीविरुद्ध लेखकले बलियो तयारी गर्दै गरेको स्रोतको बुझाई छ।
यस अगाडिको जिल्ला अधिवेशनमा पनि एनपी र लेखकले प्यानल नै खडा गरेर चुनावमा होमिएका थिए। सो समयमा पनि एनपी टिमका हालका प्रदेश सभा सदस्य बहादुर थापा पराजित बन्दा लेखक समूहका हालका भीमदत्त नगरपालिकाका मेयर पदम बोगटी पार्टीको जिल्ला सभापति बनेका थिए।
यस्तै पूर्व सभापति हरि बोहराले यस अगाडिदेखि नै चुनाव लड्न टिकट मागिरहेकोमा अब उनले आगामी निर्वाचनमा एनपीकै टिकट खोस्ने सम्भावना देखिएको छ।