धनगढी : मालपोत कार्यालय टिकापुरका तत्कालिन कार्यालय प्रमुख मोहन स्नेही रसाईली भ्रष्टाचारमा तानिएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज उनीसहित आठ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । मुद्धा चलाइएकाहरुमा मालपोत कार्यालयका नायब सुब्बा अग्निबहादुर शाही, नापी कार्यालय, टीकापुरका तत्कालिन कार्यालय प्रमुख मानबहादुर चन्द, सर्भेक्षक दशरथ मण्डल, आफ्नो नाममा जग्गाधनी दर्ता प्रमाणपूर्जा बनाउने विन्द्र रावल, कमलबहादुर रावल, सुशीलबहादुर रावल र विमलबहादुर रावल छन् ।
उनीहरुले आपसी मिलेमत्तोमा कैलालीको साविक नारायणपुर–८, अन्तर्गतको कित्ता नं. ९०८ को क्षेत्रफल १५–०–० ज.बि.(बिगाहा) जग्गा फिल्डबुकमा जंगल भनी कायम भएकोमा कित्ताकाट गरी २०६८ सालमा व्यक्तिको नाममा दर्ता गरेको अख्तियारको दाबी छ ।
अख्तियारको आरोप पत्रमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ बमोजिम २४ करोड ६ लाख ६९ हजार रुपैयाँ बिगो कायम गरी उनीहरुलाई कैद र जरिवाना गर्न माग गरिएको छ ।