काठमाडौं: नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवर आफ्नो अवकाशअघि जन्मथलो अर्घाखाँचीमा आधुनिक र सुविधा सम्पन्न आवासीय भवन निर्माणमा व्यस्त छन्। आगामी चैतमा अवकाश हुने तयारीमा रहेका कुँवरले उपलब्ध स्रोत र साधनको सदुपयोग गर्दै गाउँमा आकर्षक घर निर्माण गरिरहेका हुन्।
गाउँका परम्परागत ढुंगा-माटोका घरहरूको बिचमा कुँवरको नयाँ घर निकै फरक देखिन्छ। घरको बाहिरी संरचना लगभग पूरा भए पनि आन्तरिक सजावट र रंगरोगनका काम भने बाँकी रहेको छ। गाउँको ठूलो बारीको पाटोमा ठड्याइएको यो घरले वरपरका पुराना घरहरूलाई छायामा पारेको छ।
महानिरीक्षक कुँवरको यो कदमले नेपालका उच्च पदस्थ अधिकारीहरूबीच अवकाशअघि घर निर्माणको चलनलाई पुष्टि गरेको छ। यसअघि प्रधानसेनापति प्रभुराम शर्माले पनि काठमाडौंको स्युचाटारमा आफ्नो निवास निर्माण गरेर सकेका थिए। कुँवरले शर्माको घर निर्माणको ‘फर्मुला’ अनुसरण गरेको अनुमान गरिएको छ।
स्थानीयहरूले कुँवरको घरलाई गाउँको आकर्षणका रूपमा हेर्न थालेका छन्। कुँवरको यो पहलले ग्रामीण क्षेत्रमा आधुनिक घरको प्रवृत्तिलाई पनि प्रोत्साहन दिने विश्वास गरिएको छ।