धनगढीः कैलालीमा सुधार गृहमा राखिएका एक युवकको मृत्यु भएको छ। जिल्लाको घोडाघोडी नगरपालिका ४ भालुफाटाको नयाँ बाटो पुर्नस्थापना सुधार केन्द्रमा २५ वर्षीय सुनिल शाहीको शंकास्पद मृत्यु भएको हो।
इलाका प्रहरी कार्यालय सुखडका डीएसपी दिप्रेन्द्रकुमार पालले सुधार केन्द्रमा बस्दै आएका शाहीले एक तले भवनको छतबाट बुधबार राति हाम फालेको बताए।
छतबाट हाम फालेर गम्भीर घाइते भएका शाहीको उपचारका क्रममा घोडाघोडी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताए। शाहीको निधार, गर्धन, कम्मर र दुवै हातमा चोट लागेको देखिएको बताए। डीएसपी पालले शाहीले सुधार केन्द्रबाट भाग्ने उदेश्यले भवनको छतबाट हाम फालेको बुझिएको बताउँदै घटनाबारे अनुसन्धान जारी रहेको बताए।
तर, मृतकका परिवारले भने घटनाको प्रकृति हेर्दा शाहीको हत्या गरिएको आरोप लगाएका छन्। लागुऔषध प्रयोगकर्ता रहेका शाहीलाई गत पुसमा परिवारले सुधार केन्द्रमा राखेका थिए।