काठमाडौं – नेपाली कांग्रेसले वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि देशका प्रमुख १० शहरमा चुनावी सभा गर्ने भएको छ ।
चुनावी सभामा प्रधानमन्त्रीसमेत रहेका कांग्रेसका सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम समेत राखिएको छ ।
वैशाख २१ गते मोरङको विराटनगरमा हुने सभालाई प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री विश्वप्रकाश शर्मासहितका नेताहरूले सम्बोधन गर्ने भएका छन् ।
नेपाली कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको निर्णय अनुसार २१ वैशाखमा विराटनगरमा, २२ वैशाखमा चितवनको भरतपुरमा, २३ वैशाखमा काठमाडौंमा, २४ वैशाखमा रूपन्देहीको बुटवलमा, २४ वैशाखमा तनहुँको दमौली र धनुषाको जनकपुरमा, २५ वैशाखमा कास्कीको पोखरा र दाङको तुलसीपुरमा, २६ वैशाखमा कैलालीको धनगढीमा र २७ वैशाखमा डडेलधुरामा चुनावी सभा आयोजना हुने भएको हो ।
पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्ति अनुसार सभापति देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापा, पार्टीका प्रवक्ता डा. प्रकाशशरण महत लगायतका नेताहरूले चुनावी सभालाई सम्बोधन गर्ने जनाइएको छ ।