काठमाडौं: काठमाडौंमा नेकपा माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको बैठक बसेको छ। आज (शनिबार) काठमाडौंमा दलको बैठक सम्पन्न भएको हो।
बैठकमा सहभागी प्रदेश सभा सदस्य ओम विक्रम भाट सरलका अनुसार समसामयिक विषयमा बैठकले छलफल एवं निर्णय गरेको छ।
यस अगाडि दलमा प्रदेशसभा सदस्यहरु विभजित रहेको अवस्थामा अहिले सो समस्या हल भएको उनको दाबी छ। तर सो बैठकमा तत्कालीन संसदीय दलका नेता खगराज भट्ट र प्रदेश सभा सदस्य जानकी कुँवर भने अनुपस्थित थिए।
उनीहरू काठमाडौंमा नभएर अनुपस्थित भएको बताइएपनी बर्खास्तीमा परेका तत्कालीन दल नेता खगराजले अझै नयाँ दल नेतालाई स्वीकार नगरेको बताइन्छ। केही महिना अगाडी माओवादीमा खगराजलाई हटाएर अर्का प्रदेश सभा सदस्य मानबहादुर धामीलाई बहुमतको निर्णयले सुदूरपश्चिमको दल नेता बनाइएको थियो। त्यसपछि खगराज बिच्किएकोमा अहिलेसम्म पनि रुष्टै छन्।
आजको बैठकमा पनि उनीबाहेक अन्य नेताहरु सहभागी थिए।
बैठकमा प्रदेश इञ्चार्ज गिरिराजमणि पोख्रेल, सह-इञ्चार्ज कमरेड विना मगर र प्रदेश अध्यक्ष हरिराम चौधरी पनि थिए।
बैठकले संसदीय दल एक ढिक्का भएर सरकार निर्माण र अगामी नीति तथा कार्यक्रम र बजेटमा केन्द्रित भएर सक्रियताका साथ लाग्ने सर्वसम्मत निर्णय गरेको बताइएको छ।
यस्तै सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले आगामी महिनाको ३ गतेसम्ममा विश्वासको मत लिने तयारी गरेको अवस्थामा माओवादीको दलको बैठकलाई चासोका साथ हेरिएको छ। सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादीको नेतृत्वमा नाउपा पनि सरकारमा छ भने माओवादी केन्द्र, नेकपा एमाले र स्वतन्त्रको पनि समर्थन छ। तर एमालेले यस अगाडि मुख्यमन्त्री सोडारी हतारिएको भन्दै विश्वासको मत दिन मानेको थिएन। सोही कारण मुख्यमन्त्रीको विश्वासको मत लिने कुरामा ढिलाई हुँदै आएको छ।