काठमाडौं: नेकपा एमालेमा निष्क्रिय रहेका नेता एवं पूर्व पार्टी उपाध्यक्ष भीमबहादुर रावल र नेपाली काँग्रेसका पुराना नेता एवं हाल काँग्रेस (विपी) मा सक्रिय रहेका कर्णबहादुर मल्लबीच भेटवार्ता भएको छ। हिजो (शनिबार) काठमाडौंस्थित रावलकै निवासमा दुईजनाको वान टु वान वार्ता भएको हो।
रावल निवासमा आफू पहिलोपटक पुगेको बताउँदै भेटवार्ता भएको नेता मल्लले महेन्द्रनगरपोष्टलाई जानकारी दिए।
उनका अनुसार भेटमा समसामयिक राजनैतिक एवं देशका विभिन्न सवालहरुमा छलफल र बातचित भएको थियो। यस्तै के तपाईंहरु सुदूरपश्चिममा छुट्टै पार्टी खोल्ने तयारी हुनुहुन्छ ? राजनैनिक वृत्तमा यस्तो पनि चर्चा छ भन्ने प्रश्नमा मल्लले पार्टी खोल्ने कुरा असम्भव नरहेको भन्दै हाललाई भने त्यस्तो कुनै तयारी नरहेको दाबी गरे।
उनले भने, ‘तत्काल नै पार्टी खोल्ने किसिमको तयारी भएको छैन। अब भविष्यमा हुने र हुनसक्ने कुराहरु रहन्छन्। भविष्यको कुरो हाम्रो हातमा पनि छैन,’ उनले थपे, ‘सुदूरपश्चिममा पार्टी अध्यक्ष र भावी प्रधानमन्त्री हुनसक्ने ल्याकत भएको नेता हुन् भीमबहादुर रावल। त्यो भएको हुनाले सुदूरपश्चिममा एमाले, काँग्रेससहित सबै पार्टीभित्र ठूलो विद्रोह छ। पार्टी निर्माणको कुरा भने भविष्यको कुरा हो।’
नेता मल्लले सुदूरपश्चिममा धेरै पुराना नेताहरुले विभिन्न पार्टीमा विद्रोह गरेकाले उनीहरू एकीकृत हुनसक्ने सम्भावना पनि रहेको जिकिर गरे।
डडेल्धुरा नेता मल्ल काँग्रेस र सभापति शेरबहादुर देउवासँग विद्रोह गर्दै उनै देउवासँग गत संसदीय निर्वाचनमा चुनावसमेत लडेका थिए। काँग्रेस (विपी) बाट चुनाव लडेका उनी देउवासँग त्यसबेला पराजित भएपनि आगामी निर्वाचनको तयारीमा लागेको बताइन्छ। एमालेका नेता रावल पनि पार्टीका विद्रोही नेता हुन्।
उनले एमालेको १०औं चितवन महाधिवेशनमा केपी शर्मा ओलीविरुद्ध पार्टी अध्यक्षको चुनाव लडेर पराजित भएका थिए।
पराजित भएपछि संसदीय निर्वाचनको लागि अछाममा टिकट नै नपाएका उनी पार्टीमा जिम्मेवारीविहीन र निष्क्रिय छन्। यसबीचमा रावललाई पार्टीमा सक्रिय गर्न र गराउन अनेकन प्रयास भएको बताइएपनि सो प्रयास कुनै टुंगोमा पुगेको देखिदैन।
हालै नेता रावलले आफू एमालेको राजनीति एवं समग्र राजनीतिबाट अर्कै घुम्तीमा पुगेको र आफ्ना शुभचिन्तकको सल्लाहअनुसार चाडैं उचित निर्णय लिने बताएका थिए। पूर्वमन्त्रीसमेत रहेका रावलले आफैंले नयाँ पार्टी खोलेर समेत सक्रिय राजनीतिमा होमिने संकेत गरेका हुन्। सोहीक्रममा मल्ल र रावलको भेट पनि जुरेको बुझिएको छ।