धनगढी: नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले कैलालीको टीकापुरस्थित ३० बिघा सरकारी जग्गा हिनामिना काण्डको अनुसन्धानको फाइल अघि बढाएको छ। सीआइबी स्रोतका अनुसार केही दिन अघि सो सम्बन्धी फाइल झिकाइएको थियो।
अहिले सो फाइलको अनुसन्धान अगाडी बढाइएको जनाइएको छ।
यस अगाडि नै टीकापुर क्षेत्रको विकास गर्न भनेर स्थापित टीकापुर विकास समिति र पहुँचवालाहरुको मिलेमतोमा उक्त क्षेत्रमा ठूलो मात्रामा सरकारी जग्गा हिनामिना भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरिसकेको छ। सो काण्डमा कांग्रेस नेतृ डा. आरजु राणादेखि नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीसम्म संलग्न रहेको भन्दै सीआईबीलाई अनुसन्धान गर्न निर्देशन गइसकेको स्रोतले जनाएको छ।
टीकापुर बजार क्षेत्रमा करिब ६ सय रोपनी सरकारी जग्गा हिनामिना भएको प्रारम्भिक निष्कर्ष छ। उक्त जग्गा राजनीतिक पहुँच र मिलेमतोमा हिनामिना भएको आरोप लाग्ने गरेको छ।
सो क्रममा आरजुको नाममा करिब ४ कट्ठा र रेशमलालको नाममा ५ कट्ठा सरकारी जग्गा पुगेको सीआईबी स्रोतको दाबी छ। टीकापुरमा पञ्चायतकालदेखि प्रजातन्त्र, लोकतन्त्र हुँदै गणतन्त्रकालसम्म आइपुग्दा पहुँच र प्रभाववालाले सरकारी जग्गा हिनामिना गरेको देखिन्छ। उक्त काण्डमा सीआईबीको टोली टीकापुर पुगेरै स्थलगत अध्ययन गर्ने तयारी गरिरहेको छ।
सो जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संलग्न दुई सय ४९ जनाविरुद्ध मुद्दा दायर गरेको छ। सोही प्रकरणमा कागजपत्र किर्ते बनाइएको घटना सम्बन्धी पनि सीआइबीले अनुसन्धान गर्ने बताइएको छ।
लिखत किर्तेसम्बन्धी कसुरमा प्रहरीले अनुसन्धान गर्ने भएको हो। जग्गा हिनामिनाको क्रममा थुप्रै सरकारी कागजपत्र किर्ते बनाइएको खुलेपछि प्रहरीले पनि छुट्टै अनुसन्धान अघि बढाएको छ। यससम्बन्धी अनुसन्धानका लागि अख्तियारले नै प्रहरीलाई पत्राचार गरेको थियो।
गत २५ माघमा अख्तियारले कैलालीको टीकापुर नगर विकास समितिका तत्कालीन अध्यक्ष तथा पदाधिकारी, कर्मचारी र जग्गाधनी गरी दुई सय ४९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। टीकापुर विकास समितिको नामका नक्कली कागजात खडा गरी समितिको जग्गा व्यक्तिको नाममा हक हस्तान्तरण गरेको अख्तियारको अभियोग छ।
टीकापुर नगर विकास समितिको नाममा अभिलेख रहेका सक्कल कागजातजस्तै गरी पुरानो मितिका नक्कली घडेरी प्रमाणितपत्र, रकम बुझाएको रसिदलगायत किर्ते गरी जग्गा हिनामिना भएको अख्तियारको दाबी छ।
अख्तियारले नगर विकास समितिका पूर्व अध्यक्षहरू नेत्रप्रसाद जोशी, ललित ताम्राकार र धीजराज रेग्मीविरुद्ध मुद्दा दायर गरेको छ। २०६६ देखि पटक–पटक गरेर त्यसरी जग्गा हिनामिना भएको हो।
नगर विकासका कागजात राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा परीक्षण गर्दा नमुना मिसिलसँग नभिडेको पुष्टि भएपछि समितिको घडेरी व्यक्तिगत स्वार्थ र सम्बन्धका आधारमा व्यक्तिविशेषका नाममा वितरण गरेको अख्तियारको अभियोगपत्रमा उल्लेख छ।
आयोगले मालपोत र नापी कार्यालयका कर्मचारीलाई पनि प्रतिवादी बनाएको छ। मालपोत कार्यालय टीकापुरका तत्कालीन मालपोत अधिकृत जयबहादुर विष्ट, नापी कार्यालय, टीकापुरका तत्कालीन नापी अधिकृतद्वय मानबहादुर चन्द र गणेशबहादुर बमलाई पनि अख्तियारले प्रतिवादी कायम गरेको हो। प्रहरीले पनि पदाधिकारी, कर्मचारी र जग्गाधनी सबैमाथि अनुसन्धान गर्ने भएको छ।
कैलालीको टीकापुर बजार क्षेत्र वरिपरिको झण्डै ३० बिघा (६०० कट्ठा) सरकारी जग्गा टीकापुर विकास समितिका पदाधिकारी भनिने राजनीतिक कार्यकर्ताले नेता, आफन्त र दलका कार्यकर्तालाई वितरण गरेको भेटिएको थियो।