-शिव अवतार आद्य जगदगुरू अनन्तश्री शंकराचार्य। विभिन्न चलन, मत, पन्थ र पूजा पद्धतिमा विभाजित भएको हाम्रो सनातन समाजलाई एउटै वैदिक एकता सूत्रमा आवद्ध गरेर सनातन सभ्यताको एकीकरण गर्ने महान सूत्रधार थिए उनी। उनीद्वारा प्रणीत अद्वैत वेदान्त दर्शनलाई सनातन हिन्दु धर्मको मुटु, रक्त सञ्चार र प्राण मानिन्छ।
कलियुग लागेपछि समयक्रममा मृतप्राय: हुँदै गएको वैदिक ज्ञानलाई पुनर्जीवित गरि हाम्रो ज्ञान परम्पराको अभ्युदय गर्ने यी महात्मा युधिष्ठिर संवत् २६३१ को वैशाख शुक्ल पञ्चमी तिथिमा द्रविड भूमिको दक्षिण पश्चिम पुछारमा पर्ने कालडीमा प्रकट भएका थिए।
कोजीकोड राज्यका राजा सुधन्वाले कालडीमा स्थापित गरेको “शंकर दिग्विजय कीर्ति स्तम्भ”मा यही मिति अंकित गरिएको छ।
युधिष्ठीर संवत् ईश्वी संवत् भन्दा ३१३९ वर्ष पहिले आरम्भ भएको थियो। अहिले युधिष्ठीर संवत् ५१६३ चलिरहेको छ। यसरी हेर्दा आद्यजगदगुरू शंकराचार्य प्रकट भएको २५३२ वर्ष पुगेको छ। तर, अंग्रेज, नास्तिक र वामपन्थी इतिहासकारहरूले उनको जन्म सन् ७८८ मा भएको लेखिदिएपछि सबैले “स्यालको हुइय्याँ” जस्तै गरेर त्यसैलाई उल्लेख गर्ने गरेका छन्। सन् ७८८ लाई उनको जन्मोत्सव मान्दा १२३६ वर्ष मात्रै पुग्छ।
आद्य जगदगुरू शंकराचार्य भगवानले परिभाषित गरेको वैदिक ज्ञान, परम्परा, शास्त्र र मूल्यमान्यताहरूका प्रामाणिक र आधिकारिक वाणी वर्तमानमा चार पीठमा विराजमान भएका चारजना शंकराचार्य मात्र हुन्। अद्वैत वेदान्त दर्शनको अविरल धारा उनीहरूकै मार्गनिर्देशनमा अघि बढिरहेको छ।
आद्य जगदगुरूद्वारा २५०० वर्षअघि प्रतिपादित अद्वैत ज्ञान परम्पराका चार जना जीवित धरोहरमा कोटिकोटी नमन।