धनगढी : कैलाली कञ्चनपुरका कार्यरत नेपाल प्रहरीका इन्चार्जहरुलाई सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख रबिन्द्र केसीले निर्देशन दिएका छन् ।
प्रदेश कार्यालय धनगढीमा आयोजित एक कार्यक्रममा अहिलेको शान्ति सुरक्षाको अवस्थाको बारेमा जानकारी लिदै आगामी दिनमा आउने सुरक्षा चुनौती तथा समाधानका विषयहरुमा निर्देशन दिएका हुन ।
डीआइजी केसी शान्ति सुरक्षा तथा अपराध अनुसन्धानलाई थप सुदृढ एवम् प्रभावकारी बनाउनको लागि सम्पूर्ण प्रहरी कर्मचारीहरुले निस्स्वार्थ सेवा प्रवाह गर्दै निष्ठावान, ईमानदार एवम् सिर्जनशील भएर काम गर्न निर्देशन दिएका छन् ।
यस्तै अवैध क्रियाकलापहरु रोकथाम तथा तस्करी नियन्त्रण, यात्रुमैत्री व्यवहार, आर्थिक अनियमिततामा शुन्य सहनशीलता आत्मसाथ गरि सिमान्तकृत एवम् पीडित वर्गहरूको सारथी भई उनीहरूको समस्या एवम् गुनासोलाई प्रभावकारी रुपमा सम्बोधन गर्न बताए ।
साथै नेपाल भारतको सिमा नाकाबाट हुने भन्सार चोरी तस्करी तथा नाकामा हुने अपराधिक गतिबिधिका बिरुद्ध कडाईका साथ प्रस्तुत भई निर्देशन दिएका छन् ।
लागू औषधको ओसारपसार र बिक्री बितरण कडाईका साथ नियन्त्रण गर्ने, सवारी दुर्घटना न्यूनिकरण र नियन्त्रण गर्न प्रभावकारी रुपमा ट्राफिक नियमहरुको नियमन गर्ने, फरार अपराधीहरूको व्यापक रुपमा खोजतलास गर्ने, सामाजिक अपराध रोकथाम तथा नियन्त्रणमा प्रभावकारी ढंगले प्रस्तुत हुन भनेका छन् ।
कार्यक्रममा प्रदेश कार्यालय धनगढीमा कार्यरत प्रहरी अधिकृतहरु, ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका प्रमुख, जिल्ला प्रहरी कार्यालय कैलाली र कञ्चनपुरका प्रमुख, जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलाली र कञ्चनपुरका प्रमुख तथा सिमा नाकामा अवस्थित प्रहरी युनिटहरुमा कार्यरत सिनियर प्रहरी अधिकृत तथा जुनियर प्रहरी अधिकृत समेत गरी ६० जना प्रहरी कर्मचारीहरुको उपस्थिती रहेको थियो ।