काठमाडौ : भारतको मुम्बईस्थित घाटकोपर इलाकामा ठड्याइएको विशाल होडिङबोर्ड ढलेको छ । उक्त होडिङबोर्ड ढल्दा हालसम्म १४ जनाको मृत्यु भएको छ भने कम्तिमा ७४ जना घाइते भएका छन् ।
उक्त होडिङ बोर्ड १५ हजार बर्गफिटको रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । आजतकले आफ्नो अनलाइन संस्करणमा नगर निकायको अनुमतिबिना नै उक्त होडिङबोर्ड बनाइएको उल्लेख गरेको छ ।
सोमबार साँझ आएको आँधीले उक्त होडिङबोर्ड ढालेको हो । होडिङबोर्ड ढलेपछि त्यहाँ भागदौड मच्चिएको थियो भने थुप्रै मानिसहरू त्यसमा फसेका थिए । मंगलबार बिहानसम्म होडिङबोर्डमुनि बसेका ८६ मानिसहरूलाई निकालिएको समाचारमा जनाइएको छ ।
उक्त घटनामा घाइते भएकाहरूलाई विभिन्न अस्पतालमा भर्ना गरिएको छ । त्यसक्रममा १४ जनाको मृत्यु भएको हो । त्यस्तै ७४ जना घाइतेहरूको उपचार भइरहेको छ, जसमध्ये केहीको अवस्था गम्भीर रहेको जनाइएको छ । त्यस्तै ३१ जना भने उपचारपछि डिस्चार्ज भएका छन् ।