काठमाडौं : नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका कर्मचारीले अब १६ वर्षको जागिर अवधिमै पेन्सनसहित अवकाश पाउने भएका छन् ।
मंगलबार राष्ट्रपतिले संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सेवानिवृत्त हुने अवधि पुनरावलोकन गर्ने उल्लेख गरिएको छ ।
जसअनुसार न्यूनतम पेन्सन अवधिलाई २० वर्षबाट १८ मा झार्न लागिएको गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्री रवि लामिछानेले नै यससम्बन्धी प्रक्रिया अघि बढाएका छन् ।
गृह मन्त्रालयका एक अधिकारीका अनुसार यसका लागि कानून संशोधन प्रक्रिया अघि बढीसकेको छ । मन्त्री लामिछानेले पेन्सन अवधिलाई १६ वर्षमा झारिने प्रतिबद्धता यसअघि नै व्यक्त गरिसकेका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरीका तल्लो तहका कर्मचारीले यस्तो माग राख्दै आएका छन् ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा १६ वर्षमै पेन्सन सुविधा दिन माग हुँदै आएको छ । दुवै प्रहरीको ऐन संशोधन गरी यस्तो व्यवस्था गरिने नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।