धनगढीः नापी कार्यालय धनगढीमा सेवाग्राहीबाट दिनदहाडै घुस लिने गरिएको खुलेको छ। नापीमा लेखापढी व्यवसायीमार्फत कर्मचारीको हातमा घुस रकम पुग्ने गरेको पाइएको हो।
स्रोतका अनुसार कित्ताकाट तथा हालसाबिक गर्न आएका सेवाग्राहीबाट नापीका कर्मचारीले घुस खाने गरेका छन्।
आज (शुक्रवार) मात्रै कित्ताकाट तथा जग्गा घटीबढी मिलान गर्न आएका घोडाघोडी नगरपालिका–१ कैलाशपुरका सेवाग्राही सर्पन विश्वकर्मा, धर्म विक र नन्दकला विकबाट नापी कार्यालय धनगढीका अमिनले घुस खाएको बताइएको छ।
नापी कार्यालयको कोठा नम्बर ११४ मा साबिकको दरख गाविस हेर्ने अमिनले सेवाग्राहीबाट कित्ताकाट तथा जग्गा घटीबढी मिलाइदिने भन्दै १५ हजार घुस मागेका हुन्।
लालपुर्जामा र फिल्डमा जादाको जग्गा घटीबढी देखिएकाले मिलाइदिने भन्दै अमिनले पैसा मागेको बुझिएको छ।
मालपोत र नापी कार्यालयमा लेखापढी गर्दै आएका व्यक्तिलाई अमिनले १५ हजार दिन भनेको तर पैसा कम हुँदा १३ हजार दिएको सर्पन विश्वकर्माले बताए।
स्रोतका अनुसार घुस्याहा अमिन अक्षय कठरिया र ईश्वर चौधरी भएको खुलेको हो। तर अमिनद्वयले कुनै पनि सेवाग्राहीबाट पैसा नमागेको दाबी गरेका छन्।