काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न नेपाली कांग्रेसका शीर्ष नेताहरु प्रधानमन्त्री निवास बालुवाटार गएका छन् ।
माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डलाई भेट्न कांग्रेस सभापति शेर बहादुर देउवा, महामन्त्री गगन थापा र कृष्ण सिटौला बालुवाटार पुगेका हुन् ।
सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठनको माग कांग्रेसको बटम लाइन भएकाले सोही विषयमा छलफल गर्न बालुवाटार गएको बताइएको छ ।
कांग्रेसले उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै संसद्मा अवरोध गर्दै आएको छ । कांग्रेसकै अवरोधका कारण बिहीबारको बैठक कार्यसूचीमा प्रवेश गर्न सकेन भने शुक्रबारका लागि बोलाइएको बैठक बस्दै नबसी स्थगित भयो ।
त्यसअघि जेठ १ मा राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेपनि कांग्रेसको अवरोधकै कारण धन्यवाद प्रस्ताव समेत पारित हुन पाएको छैन ।