काठमाडौ : प्रतिनिधिसभा बैठक सुरु हुनु अघि विपक्षी दलहरू छलफलमा जुटेका छन् । कांग्रेस सभापति शेर बहादुर देउवाको कार्यकक्ष वानेश्वरमा विपक्षी दलहरूको बैठक बसिरहेको छ ।
आज ११ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक अघि सभामुख देवराज घिमिरेले पनि प्रमुख सचेतकहरुसँग छलफल गर्दै छन् ।
सहकारीको संस्थाको रकम हिनामिना प्रकरणमा मुछिएका उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन हुनुपर्ने माग नेपाली कांग्रेसले गर्दै आएको छ । कांग्रेसको यो मागमा जसपा नेपाल, राप्रपा, लोसपा लगायतका दलहरुले पनि समर्थन जनाएका छन् । उनीहरुको अडानका कारण संसदको गतिरोध अन्त्य हुन सकेको छैन ।
गतिरोध अन्त्यको प्रयासमा शनिबार बसेको सत्ता पक्ष र प्रतिपक्ष दलहरुको संयुक्त बैठकमा संसदीय समिति गठन गर्ने सहमति भएको थियो । तर संसदीय समितिको कार्यादेश (टीओआर) टुंगो लागेको छैन । कार्यादेश टुंगो लगाउन एमाले नेता एवम् कानुन मन्त्री पदम गिरीको संयोजकत्वमा कार्यदल गठन भएको छ ।
कार्यदलको बैठक कानुन मन्त्रालयमा जारी छ ।
कार्यदलमा कांग्रेस सहमहामन्त्री जीवन परियार, एमाले प्रमुख सचेतक महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल सदस्य छन् ।