– राम धामी
डडेल्धुरा – नेपाली काँग्रेसकी केन्द्रीय सदस्य समेतरहेकी प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी डा.आरजु राणा देउवाले गृहजिल्ला डडेल्धुरा पुगेर काँग्रेसका असन्तुष्ट जिल्लास्तरीय नेताहरुले एमालेसँग चुनावी तालमेल गरिरहेकोमा आक्रोश ब्यक्त गरेकी छिन् ।
डडेल्धुरा काँग्रेसभित्र षड्यन्त्र खेल्नेहरु नेपाली काँग्रेस (विपी) पार्टीका नाममा करुवा चुनाव चिन्ह लिएर एमालेसँग तालमेल गर्नु राम्रो भएको डा. राणाले बताईन् । नेपाली काँग्रेस अमरगढी नगर समितिको आयोजनामा बुधबार डडेल्धुराको बागबजारमा भएको चुनावी आमसभामालाई सम्बोधन गर्दै नेतृ डा. राणाले काङ्ग्रेसमा रहेर षड्यन्त्र गर्नेहरु पार्टी छोडेर जादा केही फरक नपर्ने जिकिर गरिन् ।
‘जसको राष्ट्रियस्तरको नेता नभएको पार्टीले के गर्न सक्छ ? करुवा पार्टीको नेता को हो ? भन्दै उनले डडेल्धुरा जिल्लाको विकासका लागि प्रधानमन्त्री देउवाले उल्लेखनीय काम गरेको दाबी गरिन् । नेपाली काँग्रेस डडेल्धुराका निवर्तमान सभापति कर्णबहादुर मल्लप्रति लक्षितगर्दै डा.देउवाले भनिन्, ‘करुवा, सरुवा हरुवालाई कसैले पनि भोट नहाल्नु होला, रुख चिन्हमा मतदान गरि नेपाली काँग्रेसका सबै उम्मेदवारलाई जिताउनु होला ।’
उनले प्रश्न गरिन,‘गुण्डालाई उठाएर म करुवा पार्टी भनेर तपाईं पत्याउने ? पहिला चप्पल लगाउन पैसा नहुनेहरु विदेश घुम्छन । टिकटक बनाउँछन,’ उनले भनिन, ‘भोली यता बजेट आवश्यकता पर्दा कसले दिन्छ बजेट ? अहिले भर्खरै प्रधानमन्त्री देउवाले जिल्लामा ३१ करोडको बजेट पार्नु भएको छ । करुवाले कति बजेट दिएको छ ?’ आक्रोशित नेतृ डा. राणाले भनिन् । धर्तीको माया गर्नेहरुले रुखमा भोट हाल्नुपर्ने बताउँदै उनले काँग्रेसको विजय भएमात्रै डडेल्धुराको विकास हुने जिकिर गरिन् ।
आसन्न स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेस डडेल्धुराका निवर्तमान सभापति मल्लको नेतृत्वमा डडेल्धुरा काँग्रेसका असन्तुष्ट नेताहरुले सामुहिक विद्रोहगर्दै नेपाली काँग्रेस (विपी) मा समाहित भएर चुनाव चिन्ह करुवा लिएर नेकपा (एमाले)सँग चुनावी तालमेल गरेका छन् । मल्ल पक्षीय नेताहरुले एमालेसँग सहकार्य गरेर हेविवेट उम्मेदवारहरु खडा गरेपछि सत्तारुढ दलहरुबीच गठबन्धन बन्न नसकेको डडेल्धुरामा नेपाली काँग्रेस एक्लै चुनावमा होमिएको छ ।
सत्तारुढ गठबन्धनबीच चुनावी तालमेल हुन नसकेको र जिल्लामा नेपाली काँग्रेसमा देखिएको विभाजनका कारण काँग्रेस सभापति तथा प्रधानमन्त्री देउवाको गृहजिल्ला डडेल्धुरामा काँग्रेसका उम्मेदवारहरु पराजय भोग्न सक्ने अबस्था देखिएकाले नेतृ राणा डडेल्धुरा पुगेकी हुन । नेतृ राणाले केहि दिन डडेल्धुरामा बसेर पार्टीका चुनावी सभाहरु सम्बोधन गर्ने कार्यक्रम रहेको नेपाली काँग्रेस डडेल्धुराले जनाएको छ । यससँगै यहि बैशाख २७ गते नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री देउवासमेत चुनावी सभा सम्बोधन गर्न डडेल्धुरा आईपुग्ने कार्यक्रम छ ।