धनगढी : कुनैबेला बाजुरा एमालेमा एकछत्र राज गर्ने गरेका कर्णबहादुर थापाको शक्ति क्षयीकरणतर्फ लागेको पाइएको छ। आज (आइतबार) मात्रै सम्पन्न एमाले बाजुरा जिल्लाको अधिवेशनले सो कुराको पुष्ट्याई गरेको हो।
जिल्ला अधिवेशनले पार्टीको स्थायी कमिटी सदस्यसमेत रहेका थापाको शक्ति क्षयीकरणतर्फ लागेको देखाएको छ। किनकी बाजुरामा आजमात्रै थापासहितले समर्थन र सहयोग गरेका उम्मेदवारसहितको प्यानल अधिवेशनमा पराजित बनेको छ। थापासहित एमाले केन्द्रीय सदस्य एवं बाजुराका सह-इन्चार्ज प्रकाश शाह, केन्द्रीय सदस्य एवं दार्चुला जिल्ला इन्चार्ज सहदेव बोगटी लगायतले समर्थन गरेका उम्मेदवारहरु अधिवेशनमा पछारिएका हुन्।
जसमा एमाले केन्द्रीय सदस्य एवं अछाम जिल्ला इन्चार्ज लालबहादुर थापाका निकटस्थ लालबहादुर ओली नेकपा एमाले बाजुराको अध्यक्षमा निर्वाचित भएका छन्।
अर्का अध्यक्षका उम्मेदवार भरत थापालाई १५ मतले पराजित गर्दै ओली विजयी भएका हुन्।
कुल ४२५ मत खसेकोमा ओली २१८ मतसहित विजयी हुँदा थापाले २०३ मत पाएका थिए।
ओलीलाई पार्टी केन्द्रीय सदस्य तथा अछाम इन्चार्ज लालबहादुर थापाको मात्रै समर्थन थियो।जबकी उनको पदाधिकारीसहितको प्यानल नै विजयी भएको छ।
जसअनुरुप उपाध्यक्षमा जनकबहादुर बोहरा, सचिवमा काशीबहादुर बिक, उपसचिवमा हरीबहादुर रोकाया र उपसचिव ९महिला० मा राजकला सार्की विजयी भएको निर्वाचन समितिले जनाएको छ।
१ जेठमा एमाले पार्टी उपाध्यक्ष रामबहादुर थापा (बादल) ले जिल्ला अधिवेशन उद्घाटन गरेका थिए। बाजुरामा एमाले नेताहरूबीच सहमतिको प्रयास असफल भएपछि पाँच दिनपछि निर्वाचन भएको थियो।
जसमा एमाले बाजुरामा लोकप्रिय मानिने लालबहादुरका उम्मेदवार लालबहादुर नै विजयी भए। उता अर्का बाजुरालाई प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य दयाल बहादुर शाही भने अधिवेशनका समयमा जिल्ला नै नपसेको बताइएको छ। यो अधिवेशनमा तटस्थ बसेका उनी कतै नखुलेर काठमाडौं बसेका थिए।