दार्चुला – नेकपा एमालेले सरकार सञ्चालन गरेको अपिहिमाल गाउँपालिकाको पाँच वर्षमा एक घर एक धारा र घर घरमा ग्याँस सिलिण्डर पुगेको छ ।
पाँच वर्षको अवधिमा गाउँपालिकाका ९० प्रतिशत घरधुरीमा स्वच्छ खानेपानीको पहुँच पुगेको हो ।यस्तै गाउँपालिकाभरीका १ हजार ३ सय घरधुरीमा ग्याँस सिलिण्डर पुगेको छ ।
नेकपा एमालेका धर्मानन्द मन्यालले नेतृत्व गरेको अपिहिमालमा हरेक घरधुरीमा खानेपानीको पहुँच पुगेको हो । मन्याल नेकपा एमालेकातर्फबाट दोस्रो पटक गाउँपालिका अध्यक्षमा उम्मेदवार बन्नुभएको छ । निर्माण गरिएका खानेपानी धारासँगै सुधारिएको चाङसमेत निर्माण गरिएको छ । खानेपानी घरघरमा पुगेपछि स्थानीय पनि दङ्ग छन् । यस्तै पर्यटकलाई लक्षित गर्दै देशकै नमूना सिद्धमकरीकोट पदमार्ग निर्माण गरिएको छ । कुल ८ हजार ८८२ खुट्कीलासहितको पदमार्ग निर्माण गएिको हो ।
अपिहिमाल गाउँपालिका ५ मकरीकोटदेखि वडा नम्बर ४ कोटसम्म पदमार्ग निर्माण गरिएको छ । पदमार्ग निर्माणपछि स्थानीयलाई यो बाटोमा हिड्न सहज भएको छ । यस्तै गाउँपालिकाले खण्डेश्वरी हुँदै अपि वेश क्याम्पसम्मको पर्यटकीय पदमार्ग निर्माण कार्य अघि बढाएको छ ।
गाउँपालिकाका हरेक वस्तीमा हिलोमुक्त बनाइएको छ । जसअन्तर्गत ११ किलोमिटर पिसिसी बाटो निर्माण सकिएको अपिहिमाल गाउँपालिकाका योजना शाखा प्रमुख पानसिह धामीले जानकारी दिनुभयो । चालू आर्थिक वर्षमा थप ३ किलोमिटर पीसीसी बाटो निर्माण हुँदै छ । जिल्लाकै उत्कृष्ट पिसिसी निर्माणले गाउँपालिकाका वस्ती हिलोमुक्त गरिएको छ ।
पाँच वर्षको अवधिमा पारिबगर–खण्डेश्वरी सडकअन्तर्गत मकरीगाडसम्म सडक निर्माण भई सञ्चालनमा आएको छ । अहिले यो क्षेत्रमा नियमति यातायात सञ्चालनमा छ । मकरीगाड–खण्डेश्वरी सडक निर्माणाधीन छन भने ओखल–सितोला सडकको काम अघि बढ्दै छ ।
‘उज्यालो अपि कार्यक्रम’ अन्तर्गत अपिहिमाल गाउँपालिका वडा नम्बर ३ पाथा, वडा नम्बर ६ मज्जेमा एक/एक सय किलोवाट क्षमताका विद्युत योजना निर्माण कार्यसम्पन्न हुने चरणमा पुगेको छ । अबको एकवर्षभित्रै दुवै क्षेत्रमा विद्युत निर्माण भएर हरेक घरधुरीमा उज्यालो पुर्याउने लक्ष्य लिइएको छ । विद्युतको राष्ट्रिय प्रसारण लाईनबाट वडा नम्बर ५ र ६ मा विद्युत लाइन विस्तारको काम भइरहेको छ भने वडा नं. १ र २ का लागि ११० किलोवाट क्षमताको सोलार मिनिग्रेडका लागि टेन्डर कार्य भएको छ ।
पाँच वर्षमा गाउँपालिकाले सबै वडामा सञ्चार सुविधाको पहुच पुर्याउन वडा नम्बर ४ को खानीडाडा, वडा नम्बर ३ को स्याउँ खानी र वडा नम्बर ६ को सितोलामा टेलिफोन टावर निर्माण गरेको छ । वडा नम्बर ६ को टावर सञ्चालनमा ल्याउने तयारी भएको छ ।
६ वटा वडामा बर्थिङसेन्टर भवन, पालिकामा अस्पताल निर्माण हुँदै
अपिहिमाल गाउँपालिकाले पाँच वर्षको अवधिमा ६ वटै वडामा स्वास्थ्य सेवाको पहुँच पुर्याएको छ । अपिहिमाल गाउँपालिकाले सार्वजनिक गरेको कार्यक्रमअनुसार ६ वटै वडामा बर्थिङ सेन्टर भवन निर्माण गरि सञ्चालनमा आएको छ ।स्वास्थ्य संस्थाहरुमा जनशक्ति व्यवस्थापन तथा थप उपकरणको व्यवस्थापन गरिएको गाउँपालिकाले जनाएको छ । गाउँमै सर्वसुलभ स्वास्थ्य उपचार पुर्याउन १० सैयाको अस्पताल निर्माण सुरु गरिएको छ ।
गाउँपालिकाभरीका आर्थिक अवस्था कमजोर भएका व्यक्तिलाई गाउँपालिकाले आर्थिक सहयोग उपलब्ध गराएको छ । पाँच वर्षको अवधिमा दीर्घरोगी भएर उपचार गराउन नसक्ने व्यक्तिलाई गाउँपालिकाले १२ लाख १० हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ । अपिहिमाल गाउँपालिकाका विरामीलाई आकस्मिक सेवाका लागि प्रदेश राजधानीसम्म जेष्ठ नागरिक र दिर्घरोगीहरुलाई निःशुल्क यातायात सेवा उपलव्ध गराउन एम्बुलेन्स खरिद गरि सञ्चालनमा ल्याएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाभरी १६ वटा सामुदायिक विद्यालय भवन निर्माण गरिएका छन् । समुदायले व्यवस्थापन गर्नुपर्ने रकम बन्द गरिएको छ । गाउँपालिकाले ८७ जना शिक्षक व्यवस्थापन गरेको छ । गाउँपालिकाभरी २७ वटा बालविकास केन्द्र स्थापना गरिएको छ । गरिब तथा जेहेन्द्र विद्यार्थीको लागि छात्रछात्राबासको व्यवस्थापन गरिएको छ ।
शिक्षाको पहुँच बढाउन खण्डेश्वरी मावि क्षेत्तीमा बालिविज्ञानतर्फ प्राविधिक धार कक्षा सञ्चालन गरिएको अपिहिमाल गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मणसिह धामीले जानकारी दिनुभयो । अपिहिमाल गाउँपालिकाले जनतालाई सेवा प्रावहमा सहजताको लागि अपि डाइभरसिटी पार्क भवन निर्माण गरेको छ । भवन निर्माणपछि गाउँपालिकाको सबै सेवा प्रभाव भइरहेको हो । यसअघि विद्यालय भवनमा सञ्चालन हुँदै आएको गाउँपालिका अहिले अपि डाइभर्सिटी पार्क भवनमार्फत सञ्चालन भएको छ । गाउँपालिकाले सुविधासम्पन्न प्रशासनिक भवन निर्माणको काम अघि बढाएको छ ।