काठमाडौं : नेपाली भूमिमा हिँड्न मिल्ने बाटो नहुँदा सुदूरपश्चिम प्रदेशको दार्चुलाको व्यास गाउँपालिकास्थित वडा नम्बर १ मा पर्ने छाङरु र टिंकर पुग्न भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता रहँदै आएको छ।
दुई वटा छिमेकी देश भारत र चीनसँग सीमा जोडिएका नेपालका दुई गाउँ पुग्ने गोरेटो बाटो विग्रिएको एक दशक हुनलाग्दा पनि मानिस हिँड्न मिल्नेगरि मर्मत हुन सकेको छैन।
पालिका केन्द्रबाट वडा नम्बर १ अर्थात् छाङरु र टिंकर जान स्थानीयले भारतको बाटो प्रयोग गर्दै आएका छन्। छाङरु र टिंकर करिव तीन किलोमिटर वरपर छन्। तर, पालिका केन्द्रबाट छाङरु र टिंकरसम्मको दूरी करिव ४० किलोमिटर रहेको पालिकाका सूचना प्रविधि अधिकृत शिवराज बडूले बताए । महाकाली नदी किनारको करिव तीन किलोमिटर चट्टानी क्षेत्रमा समस्या रहेको उनले बताए।
६ वटा वडा रहेको पालिकाको केन्द्र वडा न : ४ मा पर्छ ।
उक्त स्थानमा स्थानीयले काठको पुल बनाएर आवतजावत गरे पनि २०७२ को भूम्कपले हल्लिएर कमजोर बनाएको थियो। त्यस्तै भारततर्फ सडक निर्माणका क्रममा ढुङ्गा महाकाली नदीमा थुप्रिँदा नदीले नेपालतर्फको जमिन कटान गर्दै गएकाले पनि व्यास वासीको गोरेटो बाटो भत्किँन पुगेको हो। करिव तीन किलोमिटर क्षेत्रमा चट्टान भएकाले बैकल्पिक बाटो बनाउन सक्ने अवस्था नरहेको बडूले बताए।
छाङरु र टिंकरमा ५ सयभन्दा बढी घरपरिवारको बसोबास छ। उनीहरू हिउँदमा बेसी झर्छन् भने गर्मी याममा मात्रै छाङरु र तिङ्कर बस्छन्। उक्त गाउँ जान हरेक मानिसले भरत सरकारसँग अनुमति पत्र लिएरमात्र जान पाइन्छ। त्यतिमात्रै होइन स्थानीयले चौरी, भेडा, च्याङ्ग्रालगायत आफूसँग लैजाने वस्तुभाउको पनि विवरण खुलाएर भारतीय बाटो प्रयोगको अनुमति माग्नु पर्ने अवस्था छ ।
उक्त क्षेत्र भारतमात्र नभई चीनसँग पनि सीमा जोडिएको छ।
आर्थिक वर्ष २०७७/०७८ देखि महाकाली कोरिडोर र दार्चुला–टिंकर सडक निर्माण सुरु भएको छ। धेरै जनाले अहिले पनि दार्चुला–टिंकर जोड्ने सडकलाई महाकाली कोरिडोरका रूपमा बुझ्ने गर्छन्। तर, महाकाली करिडोर कञ्चनपुरको चाँदनीदेखि गड्डाचौकी–ब्रम्हदेव–झुलाघाट हुँदै दार्चुलाको तुषारपानीसम्म मात्रै हो। महाकाली कोरिडोर सडक विभागले निर्माण गर्दै आएको छ।
तर, दार्चुला–टिंकर सडक नेपाली सेनाले निर्माण गर्दैछ। कूल ७९ किलोमिटर लम्बाइको यस सडकको निर्माण कार्य नेपाली सेनाले आर्थिक वर्ष २०७७/०७८ बाटै सुरु गरेको हो। निर्माण सुरु गरेको करिव ४ वर्षमा १२.७२ किलोमिटर सडकको ट्रयाक खुल्ला गरिएको नेपाली सेनाका सूचना अधिकारी गौरवकुमार केसीले बताए। यो कूल भौतिक प्रगतितर्फ १६.१० प्रतिशत हुन आउने सेनाको भनाइ छ।
टिंकर क्षेत्रमा कडा चट्टान रहेकाले विस्फोटक पदार्थ प्रयोग नगरी सडक निर्माण सम्भव नभएपछी सडक विभागले रक्षा मन्त्रालय र सेनासँग नै सहकार्य गर्नुपर्ने भएपछि २०७७ वैशाख २४ को मन्त्रिपरिषद् बैठकले दार्चुला–टिंकर सडक निर्माणको जिम्मेवारी सेनालाई दिने निर्णय गरेको थियो।
जिम्मेवारी अनुसार सेनाले चट्टान भएको स्थानमा विस्पोटक पदार्थ प्रयोग गरेर सडक निर्माण गर्दैछ। तर, चट्टान स्थलमा हालसम्म सेनाले सडकको ट्रयाक पुर्याउन सकेको छैन।
दार्चुला–टिंकर सडकका लागि आर्थिक वर्ष २०७७/०७८ मा ६ करोड ५ लाख, आर्थिक वर्ष २०७८/०७९ मा २२ करोड ५ लाख विनियोजना भएको थियो। त्यस्तै आर्थिक वर्ष २०७९/०८० मा ९ करोड ५० लाख र चालू आर्थिक २०८०/०८१ मा १४ करोड १९ लाख रुपैयाँ बजेट विनियोजन भएको छ। ७९ किलोमिटर सडकका लागि चार वर्षमा कूल ५२ करोड ६९ लाख रुपैयाँ विनियोजन भएको देखिन्छ।
वि.सं. २०६६ मा दार्चुला–तिंकर सडक नामकरण गरिएको सो योजना २०७४ सालमा महाकाली करिडोरमा परिणत गरिएको थियो। कञ्चनपुरको ब्रह्मदेवबाट डडेल्धुरा, बैतडी र दार्चुलाको तिंकरसम्म ४१३ किलोमिटर सडक हुन आउँछ।