धनगढी : नरभक्षी चितुवाले २८ जना बालबालिकाको सिकार गरिसकेको बैतडी जिल्लामा घाइतेहरू पनि उत्तिकै छन् । चितुवाले विशालपुर गाउँमा मात्रै छ बालकको ज्यान लिएको छ । १७ जना घाइते अवस्थामा जीवन बिताइरहेका छन् । बैतडीमा चितुवाको जोखिम बढेपछि मान्छे र चितुवाबिच एकअर्काको शत्रुता घटाउन सहअस्तित्व अभियान सञ्चालन गरिएको छ ।
यस अभियानमा लागेका मेलौली नगरपालिका–९, विशालपुरका शङ्करदत्त भट्ट चितुवा र मावनबिच सहअस्तित्व बढाउने समूहको अध्यक्ष बनेका छन । आँगनमा खेल्दै गरेको छोरा चितुवाको सिकार बनेपछि उनि जङ्गली जनावर चितुवा भगाउने र बचाउने अभियानमा लागेका हुन ।
त्यस्तै विशालपुर गाउँकी गुनडी लोहारकी छ वर्षीय छोरी चितुवाको आहारा बनिन् । यस गाउँमा लगातार छ बालबालिकालाई चितुवाले सिकार बनाएपछि चितुवा धपाउन सिङ्गो गाउँ एकजुट भएको छ ।
स्थानीयले चितुवा मार्न आन्दोलन नै चर्काएपछि चितवन राष्ट्रिय निकुञ्चका वन विज्ञको समूहले २०७७ फागुनमा नरभक्षी चितुवालाई काठको खोरमा थुनेर डाँडो कटाएर लगे पनि विशालपुर गाउँमा चितुवाको आतङ्क रोकिएको छैन ।
चितुवा र मानवबिचको द्वन्द्वमा २०६८ सालदेखि हालसम्म २८ जनाले ज्यान गुमाउँदा १८ वटा चितुवा मरेको डिभिजन वन कार्यालय बैतडीका निमित्त कार्यालय प्रमुख दिलीपकुमार यादवले बताए ।
चितुवा मार्नुभन्दा भगाउन र नियन्त्रण गर्न सहअस्तित्व अभियान आवश्यक परेको भनाइ स्थानीयवासीको छ ।