काठमाडौं – आज बिहीबार वैशाख २२ गतेदेखि अपर सोलु हाइड्रोले आयोजना प्रभावित स्थानीय बासिन्दालाई आइपीओ बिक्री खुला गरेको छ ।
कम्पनीले स्थानीयलाई १३ लाख ५० हजार कित्ता सेयर निष्कासन गरेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्र अर्थात् सोलुखुम्बु जिल्लाको हालको सोलु दुधकुण्ड नगरपालिका अर्थात् साविकको टाकसेन्दु, बेनी, तामाखानी, सल्लेरी, गार्मा, केरुङ्ग, गोराखानी, टाप्टिङ्ग र तिङ्ला गाविसका बासिन्दाहरुलाई उक्त आइपीओ जारी गरेको हो । स्थानीयले प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् ।
आयोजना प्रभावितहरुलाई निष्कासन गरिएको सबै सेयर बिक्री नभएमा बाँकी रहेको सेयर सर्वसाधारणलाई थप गरी बिक्री खुला गरिने कम्पनीले जनाएको छ । आवेदन दिने अन्तिम म्याद जेठ ५ सम्म रहेको छ । सो अवधिमा सबै सेयर बिक्री नभएमा जेठ २० गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।
रेटिङ एजेन्सी इक्रा नेपालले यस आइपीओलाई ‘इक्राएनपी इस्यूअर रेटिङ डबल बी प्लस’ प्रदान गरेको छ जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ । यस आइपीओको लागि बिक्री प्रबन्धकको कार्य एनएमबि क्यापिटलले गर्नेछ ।
स्थानीय बासिन्दाले एनएमबि बैंक, लक्ष्मी बैंक, ग्लोबल आइएमई बैंक र प्राइम कमर्सियल बैंकको सोलुखुम्बु शाखाबाट आवेदन दिन सक्नेछन् । त्यस्तै, लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट पनि आवेदन दिन सक्नेछन् ।