धनगढी : नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) कैलालीको आयोजनामा एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्डको पाँचौं संस्करण आगामी असार ७ गते हुने भएको छ ।
वर्ष २०८० मा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा उच्च प्रदर्शन गरेका खेलाडी र प्रशिक्षकसहित विभिन्न आठ विधामा अवार्ड प्रदान गरिने छ ।
अवार्ड कार्यक्रममा उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष विधा समावेश गरिएको छ ।
उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५/३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफटाईम एचिभमेन्ट अवार्डका विजेतालाई २५/२५ हजार रुपैयाँबाट पुरस्कृत गरिने आयोजक एनएसजेएफ कैलालीले जनाएको छ ।
यस्तै सुदूरपश्चिम आइकन महिला र पुरुष विधाका विजेतालाई २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले मंगलबार जानकारी दियो ।
कार्यक्रमलाई सुदूरपश्चिमाञ्चल एकेडेमीले मुख्य प्रायोजकका रूपमा साथ दिने भएको छ ।
मंगलबार नै सुदुरपश्चिमाञ्चल एकेडेमीका प्रबन्ध निर्देशक सुवाश शाही र आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष प्रदीप पाठकबीच सम्झौता पत्रमा हस्ताक्षर गरे ।